शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कर्मचारीलाई प्रशिक्षित गर

बिहिवार , भाद्र २८, २०८०

सिन्धुलीमा राज्यले दिने सामान्य सिफारिसको निवेदन लिन नागरिकले सास्ती व्यहोर्नुपरिरहेको छ । वडा लगायत नगर तथा गाउँपालिकाले सिफारिश गर्ने निवेदनमा व्यापक त्रुटि हुने गरेको सेवाग्राहीको गुनासो छ । स्थानिय तहमा कार्यरत कर्मचारीसँग कम्युटरको पर्याप्त ज्ञान नहुनु, सामान्य अंग्रेजि भाषा लेख्न र पढ्न नजान्नु र कानुनको आधारभुत जानकारी समेत नहुँदा एउटा सिफारिश पत्रको लागि सेवाग्राहीले बारम्बार कार्यालय धाउनुपर्ने बाध्यता छ ।

विशेषगरि, जिल्लामा रहेका ७९ वडामध्ये धेरैजसो वडाका सचिवहरुको कामकार्वाहीप्रति नागरिक असन्तुष्ट छन् । त्यसैगरि, दरबन्दि अनुसार वडासचिव नियुक्ति गर्न नगर तथा गाउँपालिका असक्षम हुँदा सेवाग्राहीलाई राज्यको सेवा, सुविधा लिन कठिनाई भइरहेको अवस्था छ । यतिसम्म कि, एउटै वडासचिवले दुईवटा वडाको काम गर्नुपर्ने बाध्यता छ । एकातर्फ दक्ष कर्मचारी नहुनु र अर्कोतर्फ स्थानिय तहले दरबन्दि अनुसार कर्मचारी खटाउन नसक्दा सेवाग्राहीलाई सास्ती भइरहेको छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा सिन्धुलीमा रहेका नौँवटा स्थानिय तहले भ्रमणकालागि झण्डै एक करोड रुपैँया बजेट खर्च गरेका छन् । त्यस्तै, कर्मचारीको सिप अभिवृद्धि लगायत वृत्तिविकासकालगि स्थानिय तहले लाखौँ बजेट खर्च गरेपनि उपलब्धि सन्तोषजनक छैन । तसर्थ, वडादेखि नगरमा कार्यरत कर्मचारीको क्षमता र सिप अभिवृद्धिकालागि उपलब्धिमुलक कार्यक्रम संचालन गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । त्यसैगरि, योग्यता अनुसार कर्मचारी नियुक्ति गर्नतर्फ जिम्मेवार निकाय सचेत हुन जरुरी छ । अतः सामान्य सिफारिशको निवेदन लिनसमेत नागरिकले हप्तौँ कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सम्बन्धित निकाय चनाखो हुनुपर्दछ ।

 

प्रतिक्रिया