चाडपर्वले खुशीयाली र उमंग ल्याउँछ । तर, समाजमा हुनेखाने र हुँदाखाने बिचको भिन्नताले गर्दा चाडपर्वले खिन्नता र चिन्ता ल्याईरहेको छ । समाजवाद, माओवाद र कुनैपनि वादले नेपाली समाजमा समानता ल्याउन सकिरहेको छैन । नेपाली समाजमा चाडपर्वलाई विशेष दिनका रुपमा लिईन्छ । हरेक चाडपर्व एवं सांस्कृतिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन् । तर, भड्किलो चाडपर्वले समाजमा विभेद जन्माएको छ । यतिबेला हाम्रा महत्वपूर्ण पर्व सुरु भएका छन् ।
हिन्दु धर्मावलम्वी महिलाको महान् चाड तीज नजिकिएसँगै सिन्धुली बजारका पार्टी प्यालेस, होटल तथा रिसोर्ट र समाजिक संजाल तीजले भरिभराउ भएको छ । सद्भावपूर्ण रूपमा मनाइने पर्वलाई देखासिकी र होडबाजीमा मान्ने, मनाउने परम्पराले हाम्रो संस्कार, संस्कृतिको संरक्षण हुनेमा प्रश्न उब्जिएको छ । यतिमात्रन नभएर देखासिकि र होडबाजीले समाजमा अपराधिक घट्ना बढाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकलेनै चाडपर्व नजिक चोरी तथा अपराधिक घट्नामा वृद्धि हुने देखाएको छ । तसर्थ, चाडपर्वलाई सकारात्मक उर्जा थप्ने अवसरको रुपमा लिदैँ तड्कभडक कम गर्न सबै धर्मावलम्वीहरु सचेत हुन जरुरी छ ।
सिन्धुलीको कमलामाई नगरपालिकाले तीज मनाउन हरेक वडालाई २५ हजार रुपैँयाको दरले बजेट उपलब्ध गराएको छ । स्थानिय सरकारले समाजमा समानता ल्याउन ठुला चाडपर्वमा नागरिकलाई सहयोग गर्नु सकारात्मक पक्ष हो । आर्थिक अवस्था कमजोर भएकालेपनि चाडपर्वलाई हर्षोल्लासका साथ मनाउनुपर्छ भन्ने स्थानिय सरकारको कदम सराहनिय छ । तर, जिल्लामा चाडपर्व भड्किलो हुँदा समेत कुनैपनि स्थानिय तहले नियन्त्रण गर्न चासो नदेखाउनु दुर्भाग्य हो । तसर्थ, जिल्लाको नेतृत्वले चाडपर्वलाई धनि र गरिबबिचको खाड्ल पुर्ने अवसरको रुपमा लिनुपर्दछ । बेरोजगारीको अन्त्य, उचित पारिश्रमिकको व्यवस्था लगायत श्रमको सम्मान गर्ने समाज निर्माण गर्न राज्यको संयन्त्रण गम्भिर हुनुपर्ने देखिन्छ । अतः प्रतिस्पर्धा र देखासिकीले समाजलाई विकृति र विसंगतितर्फ धकेल्ने हुँदा भड्किलो तरिकाले चाडपर्व नमनाआँै ।