शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

खेलकुदमा लगानी बढाऊ

बुधवार , भाद्र २०, २०८०

एसिया कप अन्तर्गत सोमबार विश्व विजेता भारतसँग सान्दार खेल प्रदर्शन गर्दागर्दै पनि नेपालले हार व्यहोर्नु पर्‍यो । सिमित श्रोतसाधन  र पुर्वाधारको बाबजुद नेपालले खेल जित्न नसकेपनि उत्कृष्ठ प्रदर्शन गरेको छ । राज्यले खेलकुदमा वर्षेनि करोडौँ लगानी गरिरहेको छ । तर, उचित ठाउँमा लगानी नहुँदा राज्यको लगानी बालुवामा पानी हाले सरह भइरहेको छ । तीनै तहको सरकारले खेलकुदकालागि लाखौँ बजेट छुटाउने गरेका छन् । तर, खेलाडी उत्पादनदेखि प्रशिक्षणमा पहुँचवालाकै हालिमुहालि हुने गरेको छ ।

सिन्धुलीका स्थानिय तहले खेलकुदलाई प्राथमिकतामा राखेपनि सोचे अनुसार खेलाडी उत्पादन हुन सकिरहेको छैन । आफन्त, कार्यकर्ता र नातावादको हाबिले गर्दा सिन्धुलीबाट कुनैपनि खेलाडी राष्ट्रिय खेलकुद टिममा अटाउन सकिरहेका छैनन् । खेलकुदमा हुने चरम आर्थिक अनियमितता र भ्रष्टाचारले गर्दा जिल्लामा खेलकुद क्षेत्रको विकास हुन सकिरहेको छैन । कमला, मरिण, सुनकोशी खोलाको किनारामा खेल्दै, हुर्केका युवाहरुको सहनशक्ति उच्च हुँदाहुँदै पनि कुनैपनि खेलको राष्ट्रिय टिममा जिल्लाका खेलाडी समावेश हुन नसक्नु दुर्भाग्य हो । जिल्लाका खेलाडीको सीपलाई निखार्न जिम्मेवार निकायले आवश्यक कदम चाल्न सके जिल्ला र देशकै प्रतिनिधित्व गर्ने सामथ्र्य यहाँका खेलाडीले राख्दछन् । तसर्थ, खेलसँग आबद्ध रहेका जिल्लाका संघ, संस्थालाई मजबुत बनाउन स्थानिय तहदेखि प्रदेश र केन्द्र मातहतका कार्यालय गम्भिर हुन जरुरी छ । अतः जिल्लाको समग्र खेलकुद क्षेत्रको विकासमा सरोकारवाला निकायले तादरुकता देखाउन आवश्यक छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया