शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

भत्ता वितरणमा लापर्वाही नगर

मंगलवार , भाद्र १९, २०८०

राज्यले ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपांगता भएका, अति अशक्त अपांगता भएका, बालबालिका, लोपोन्मुख आदिवासी जनजातीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । वडाबाटै सात लाभान्वित वर्गलाई वितरण हुने सामाजिक भत्तामा लापर्वाही भएको खबरहरु सार्वजनिक हुदैँ आएको छ । सिन्धुलीमा एउटै व्यक्तिले दोहोरो भत्ता लिएको भन्दै महालेखा परिक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यस्तै, राज्यले दिदैँ आएको सामाजिक सुरक्षा भत्ता अवास्तविक व्यक्तिले समेत लिने गरेको तथ्यहरु बाहिरिएको छ । आफू निकटका कार्यकर्तालाई सामाजिक सुरक्षा भत्ताकोलागि कागजमा योग्य बनाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको स्थानियको आरोप छ । तसर्थ, वडाबाट हुने लापर्वाहीलाई रोकथाम गर्नतर्फ स्थानिय सरकार गम्भिर हुनुपर्ने देखिन्छ । यतिमात्र नभएर गलत मनसायबाट हुने यस्ता कार्यलाई निरुत्साहित पार्न आवश्यक कानुनी साहयता लिनपनि सम्बन्धित निकायले कञ्जुस्याईँ गर्नुहुदैँन ।

लक्षित वर्गले सहजै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न स्थानिय सरकारले विभिन्न कार्यक्रमहरु ल्याएका छन् । सिन्धुलीका केहि स्थानिय तहलेपनि घरमै पुगेर सामाजिक सुरक्षा वितरण देखि टोटटोलमा घुम्ति सेवा संचालन गरेर भत्ता वितरण गरिरहेको अवस्था छ । राज्यले दिने सेवा, सुविधा प्राप्तिकालागि नागरिकलाई सहज बनाउन अन्य स्थानिय तहपनि गम्भिर हुनुनर्पे देखिन्छ । त्यसैगरि, सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको अनियमितता र लापर्वाहीलाई रोकथाम गर्न स्थानिय सरकार लगायत नियमनकारी निकायले नियमन गर्न जरुरी छ ।

प्रतिक्रिया