नेपाली हिन्दु धर्मावलम्बीको महान चाड बडादशैँ आउन झण्डै डेढ महिना बाँकी छ । दशैँ नजिकिएसँगै सिन्धुलीमा चोरी लगायत अपराधिक घट्नाहरु सार्वजनिक भइरहेको छ । विभिन्न धर्मावलम्बीको मुख्य चाडपर्व आउनुअघि चोरी लगायत अपराधिक घट्नामा वृद्धि हुने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकले देखाएको छ । तीन वर्षको अवधिमा सिन्धुलीमा ७३ वटा चोरीको मुद्धा सिन्धुली प्रहरी कार्यालयमा दर्ता भएको छ । चाडपर्व आउन केहि महिना बाँकी रहदा चोरीका घट्नामा वृद्धि हुने गरेको स्थानियले बताउने गरेका छन् । चाडपर्व नजिकिदैँ गर्दा पशुदेखि बहुमुल्य पदार्थ (सुन, चाँदी) र घरदेखि पसलमा चोरी हुने गरेको ग्रामिणदेखि सदरमुकामका स्थानियले दुखेसो पोखेका छन् ।
स्थानिय सरकारदेखि केन्द्रिय सरकारको संयन्त्रले समाजमा अपराधिक घट्ना न्युनिकरण गर्न लाखौँ रुपैँया खर्च गरिरहेका छन् । जिल्लाका स्थानिय सरकारले लाखौँ खर्चेर सिसि क्यामेरा जडान गरेका छन् । मान्छेको चहलपहल हुने ठाउँमा जडान गरिएको सबै सिसि क्यामेराको मर्मत गरि संचालनमा ल्याउन सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । त्यसैगरि, प्रहरी प्रशासनले पनि चाडवाड लक्षित सुरक्षाका कार्यक्रम संचालन गर्न ढिलाई गर्नुहुदैँन । प्रहरी कार्यालयबाट केहि दुरि नजिकैको पसलमा चोरी हुदाँ नागरिकले असुरक्षाको महशुश गरिरहेका छन् । सदरमुकामका अपराधिक घट्ना सार्वजनिक भएपनि ग्रामीण क्षेत्रका साना देखि ठूला अपराधिक घट्ना प्रहरी कार्यालयसम्म नपुग्ने गरेको अवस्था छ । तसर्थ, ग्रामीण क्षेत्रमा सुरक्षा संयन्त्रलाई अब्बल बनाउदैँ समुदायसँग प्रहरी जोडिन विविध सुरक्षाका कार्यक्रम संचालनमा आउन जरुरी छ । अतः दशैँ लक्षित सुरक्षाको योजना ल्याउन स्थानिय सरकारदेखि प्रहरी कार्यालय लयायत सम्बन्धित निकायले ढिलाई गर्नुहुदैँन ।