यस वर्षको मनसुनले सिन्धुलीमा मानविय तथा भौतिक संरचनामा क्षति पुर्याउने क्रम रोकिएको छैन । जिल्लाको तीनपाटन, दुधौली, मरिण, हरिहरपुरगढी, घ्याङलेख लगायत अधिकांश स्थानिय तहमा बाढी, पहिरोले क्षति पुर्याएको छ । खेतियोग्य जमिन कटानका साथै घर, गोठ भत्किएका छन् भने मृत्युको घट्नापनि सार्वजनिक भईरहेको छ । बाढी, पहिरोबाट प्रभावित स्थानियलाई मनसुनले पिरोलि रहेको छ । घाँस, बाँस र कपासको अभावले प्राकृतिक प्रकोपमा परेका स्थानिय पिडित भएका छन् । नागरिकलाई दुखको घडीमा राज्यको अभिभाकत्वको आवश्यकता छ । सर्वसाधारणको जिवनशैलिसँग स्थानिय सरकार नजिक भएकाले बाढी, पहिरो पिडितले स्थानिय सरकारसँग राहतको अपेक्षा गरेका छन् ।
जिल्लाका स्थानिय तहले बाढी, पहिरोले पुर्याएको क्षतिको विवरण संकलन गरिरहेका छन् । क्षतिको विवरण संकलनमा स्थानिय तहले गम्भीर भएर प्रभावित क्षेत्रमा पुगि राहत बितरण गर्नतर्फ विशेष ध्यान दिन जरूरी छ । त्यस्तै, राहत वितरणकालागि पनि जिल्लाका सरोकारवाला निकायले आवश्यक ठाउँमा पहल गर्न कञ्जुस्याई गर्नुहुदैँन । अतः पिडितको घाउमा मलहम लगाउन जिम्मेवार निकायले आफ्ना भुमिका निभाउनुपर्छ । त्यसैगरि, प्रभावित क्षेत्रको अवलोकन गरि राहतका कार्यक्रम संचालन गर्न सम्बन्धित निकायले ढिलाई गर्नुहुदैँन ।