शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कार्यक्रमलाई प्रभावकारी बनाऊ

सोमवार , भाद्र ११, २०८०

सिन्धुलीका स्थानिय तहले चालु आर्थिक वर्ष २०८०/०८१ मा नविनतम कार्यक्रमहरु ल्याएका छन् । जिल्लाका स्थानिय तहले संचालन गरेका कार्यक्रमहरुले देशव्यापी चर्चा पनि पाएको छ । एसईइ उत्तिर्ण विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न छात्रवृत्तिसहितको रोजगारी कार्यक्रम, विवाह अघि स्नातक उतिर्ण गर्ने छात्रा तथा अविवाहित छात्रालाई एक लाख रुपैँया उपहार, ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ लगायत विविध नविनतम कार्यक्रम जिल्लाका स्थानिय तहले संचालन गरिरहेका छन् । सामाजिक विकासकालागि स्थानिय सरकारले चाहेमा प्रदेश र केन्द्रिय सरकारभन्दा बढि योगदान गर्न सक्छन् । संविधानले नै स्थानिय तहलाई कार्यकारी जिम्मेवारी दिएको छ ।

तर, स्थानिय तहले संचालन गर्ने कार्यक्रमहरु कार्यकर्तामुखि हुने स्थानियले आलोचना गरेका छन् । निश्चित दलका कार्यकर्ता तथा पहुँचवालाहरुकै लागि राज्यको सेवा, सुविधा बढि प्रभावकारी भएको गुनासो निम्न वर्गका नागरिकले बताउदैँ आएका छन् । तसर्थ, जिल्लाका स्थानिय सरकारले संचालन गरेका कार्यक्रमलाई प्रभावकारी बनाउनतर्फ गम्भिर हुनुपर्ने देखिन्छ । यहाँका स्थानिय तहले संचालन गरेका कार्यक्रमहरु अन्य स्थानिय तहले समेत सिको गरिरहेको अवस्थामा कार्यान्वयनतर्फ पनि सचेत हुन सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजि लगाय आर्थिक विकासकालागि स्थानिय सरकारको भुमिका अहम हुन्छ । निति तथा कार्यक्रम र बजेट निर्माणमै स्थानिय सरकारले योजना बनाएरै नविनतम र उपलब्धिमुलक कार्यक्रम संचालन गर्न गृहकार्य गर्नुपर्ने देखिन्छ । अतः स्थानिय तहले संचालनमा ल्याएका कार्यक्रम प्रचारमुखी भन्दा पनि जनमुखी हुन जरुरी छ ।

प्रतिक्रिया