सिन्धुलीका सातवटा स्थानिय तहले नगर तथा गाउँप्रहरी भर्ना गरेका छन् । सुनकोशी र घ्याङ्लेख गाउँपालिका बाहेक जिल्लाका सबै स्थानिय तहमा नगर तथा गाउँप्रहरी भर्ति गरिएको छ । सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण, विपद व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनस्र्थापना लगायतको काम, कर्तव्य सहित जिल्लाका स्थानिय तहले नगर तथा गाउँप्रहरी भर्ना गरेका छन् । तर, सिन्धुलीमा नगर तथा गाउँ प्रहरीको कर्तव्यलाई संकुचित गरिएको छ । जनप्रतिनिधिको ब्याग बोक्ने, कार्यालयको रेखदेख गर्ने, बेलाबखत बजार घुम्ने बाहेक अन्य काममा नगर तथा गाउँ प्रहरीको भुमिका देखिएको छैन । स्थानिय तहले कर्मचारी प्रशिक्षणकालागि कुनैपनि योजना बनाउन नसक्दा उनीहरुबाट सोचे अनुसारको लाभ लिन नसकेको अवस्था छ ।
हालसम्म जिल्लाका स्थानिय तहले नगर तथा गाउँ प्रहरीलाई कुनैपनि तालिम दिएका छैनन् । अन्य जिल्लाका स्थानिय तहले नगर तथा गाउँप्रहरीलाई विभिन्न तालिम दिएर दक्ष बनाइरहदा सिन्धुलीमा भने उक्त पद कार्यकर्ताकालागि छुटाइएको सरह भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले २५ जना नगरप्रहरीलाई सर्पको उद्धार गर्ने तालिम दिएको छ । जिल्लाको दुधौली, मरिण लगायतका स्थानिय तहमा सर्पदंशले हरेक वर्ष मानविय क्षति हुने गरेको छ । स्थानिय तहले नगर तथा गाउँप्रहरीलाई सर्पको उद्धार गर्ने तालिम दिन सके केहि हदसम्म सर्पदंशको घट्नामा कमि आउन सक्ने छ । तसर्थ, आवश्यका अनुसार नगर तथा गाउँप्रहरीलाई सिप प्रदान गर्न जिल्लाका स्थानिय तहले तालिम दिन जरुरी छ ।
माल पाएर, चाल नपाएझैँ नगर तथा गाउँप्रहरीको महत्व स्थानिय तहले बुझेका छैनन् । करारका कर्मचारी भर्ति गर्न हतारिने स्थानिय तहको कार्यालयले कर्मचारीको सिप बढाउन नजरअन्दाज गरेको छ । तसर्थ, स्थानिय तहमा भर्ति गरिएका कर्मचारीलाई सिपमुलक तालिम दिनतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।