सिन्धुलीमा सार्वजनिक जग्गा अतिक्रमण गर्नेक्रम बढ्दो छ । वन फडानि गर्दै विभिन्न तिक्डम लगाएर राज्यको सम्पत्तीमा भौतिक संरचना निर्माण भईहेको स्थानियले गुनासो गरेका छन् । विगतका दिनमा खोला बग्ने ठाउँमा पहुँचवालाहरूले निजि प्रयोजनकालागि खोलाको जग्गा प्रयोग गरिरहेको नागरीकले दुखेसो पोख्ने गरेका छन् । यतिसम्मकि धार्मिकस्थलको जग्गामा समेत जग्गा कारोबारीले आँखा गाडेको अवस्था छ । सार्वजनिक सम्पत्तिको संरक्षणमा राज्यको संयन्त्रले आँखा चिम्लिदा राज्यको सम्पत्तिमा निश्चित केही व्यक्ति र समुहको हालिमुहालि बढेको छ । जिल्लाका केही जनप्रतिनिधिले समेत सार्वजनिक सम्पत्ति हडप्न अप्रत्यक्ष रूपमा संलग्न भएको स्थानियको आरोप छ । तसर्थ, बाटो, खोला, वन, मठमन्दिर लगायत सार्वजनिक जग्गा ओगटेर निर्माण भएका संरचनाको पहिचान गर्नतर्फ स्थानिय तहले विशेष पहल गर्नुपर्ने देखिन्छ । जिल्लाका सरोकारवाला निकायले सार्वजनिक सम्पत्तिको लेखाजोखा राख्न जरूरी छ ।
जिल्लाका नौँवटै स्थानिय तहमा सार्वजनिक जग्गा अतिक्रमण भईरहेको स्थानियले गुनासो गरेको अवस्थामा सम्बन्धित निकायले राज्यकै नाममा जग्गा फर्काउनतर्फ गम्भीर हुनुपर्दछ । सार्वजनिक जग्गा अतिक्रमणविरूद्ध बेलैमा आवाज नउठाए जिल्लाका सार्वजनिक स्थल केही वर्षमै पहुँचवालाको नाममा नजाला भन्न सकिन्न । तसर्थ, जग्गा अतिक्रमणविरूद्ध राज्यको संयन्त्रलाई सचेत गराउनतर्फ नागरिक समाज, पत्रकार लगायत सरोकारवालाले आ–आफ्नो ठाउँबाट भुमिका निभाउन जरूरी छ । सार्वजनिक जग्गा निश्चित व्यक्ति र समुहको पकडमा रहन नदिन जिम्मवार निकायले निर्मम भएर आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैन । खोलाको बगरमा रूख रोपेर खोलाको धारनै परिवर्तन गर्ने, भौतिक संरचना निर्माण गर्ने लगायत गैरकानुनि कार्यलाई निरूत्साहित पार्न नियमनकारी निकाय चनाखो हुनुपर्छ । अतः सार्वजनिक जग्गाको संरक्षणमा राज्यको संयन्त्रसहित हरेक नागरिकले एक्यवद्धता जनाउन आवश्यक छ ।