सिन्धुलीका स्थानिय तहमा कर्मचारी विरुद्धका गतिविधिहरु बढिरहेको छ । जनप्रतिनिधिबिचको जुँगाको लडाईँमा कर्मचारीमाथि भौतिक तथा अभौतिक आक्रमण भइरहेको छ । कर्मचारीमाथि अभद्र व्यवहार गर्दै कार्यालय छिर्न नदिने, सरुवाकालागि दौडधुप गर्ने, नियोजित आरोप लगाउने लगायत अव्यवहारिक गतिविधिले जिल्लामा प्रश्रय पाइरहेको छ । स्थानिय तहको सम्पूर्ण अधिकार कर्मचारीमाथि मात्र निर्भर छैन । संविधानले कर्मचारीलाई मात्र एकल अधिकार नदिएको हुँदा स्थानिय तहको हरेक गतिविधिमा जनप्रतिनिधिको पनि सहभागिता हुन्छ । तर, कुनैपनि योजना वा कार्यक्रममा कर्मचारीलाई मात्र दोषारोपण गर्दै अभद्र व्यवहार गर्नु लज्जास्पद छ ।
सल्लाह, सुुझाव दिएको भन्दै कर्मचारीमाथि जाईँ लाग्ने प्रवृद्धिले बढावा पाएसँगै कर्मचारीले जिल्लामा असुरक्षित महशुश गरिरहेका छन् । कर्मचारीले गरेका सार्वजनिक काम कार्वाहीको जानकारी नागरिकले लिन सक्ने अधिकार संविधानमै स्पष्ट उल्लेख गरिएको छ । तर, विभिन्न आरोप लगाउदैँ कानुननै हातमा लिएर प्रतिवादमा उत्रनु गैरकानुुनि कार्य हो । तसर्थ, जिल्लामा कर्मचारीमाथि हुने गरेको अभद्र व्यवहार र कर्मचारीको काम, कार्वाहीमा आँच पुुर्याउने गतिविधिलाई निरुत्साहित पार्न सरोकारवाला निकायले सम्बन्धित पक्षलाई खबरदारी गर्न जरुरी छ ।
कर्मचारी स्थायी सरकार हुन् । विभिन्न जिल्लाबाट आएर अन्जान ठाउँमा काम गरिराख्दा यहाँका केहि स्थायी नागरिकले उनीहरुमाथि असुरक्षा पैदा गर्नु अमानविय व्यवहार हो । जनप्रतिनिधिबिचको टकरावको कोपभाजनमा कर्मचारी पर्नु न्योयोचित होइन । तसर्थ, कर्मचारीको गलत कार्यमाथि औँला उठाउनु स्वभाविक भएपनि कानुननै हातमा लिएर उनीहरुमाथि अभद्र व्यवहार गर्नु कुसंस्कारको उदाहरण हो । अतः संविधानले दिएको अधिकारको प्रयोग गर्दै कानुन संवत निगरानि र खबरदारि गर्ने चेत सबैमा पलाउन आवश्यक छ ।