सिन्धुलीका सरकारी कार्यालयमा कर्मचारीले हाजिरी गरेर टाप कस्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्लाका स्थानिय तह मातहतका कार्यालयमा हाजिरी गर्ने र टाप कस्ने समस्या त झनै विकराल छ । कार्यालय समयमै जिल्लाका स्थानिय तहका कर्मचारी राजनैतिक दलको कार्यक्रममा उपस्थित हुने गरेका छन् । राज्यको सेवा, सुविधा लिएर निजि काममा व्यस्त हुँदा कर्मचारी सेवाग्राहीप्रति उत्तरदायित्व नभएको गुनासो बढ्दो छ ।
शैक्षिक संस्थादेखि नागरिकलाई आधारभुत सेवा दिने कार्यालयकै कर्मचारीलाई कार्यालय समयमा भेट्न मुश्किल हुने गरेको छ । दुर्गम देखि सुगम क्षेत्रमा स्थानिय तह मातहतका कार्यालयमा कर्मचारी देखि जनप्रतिनिधि नभेटिदा स्थानियले सामान्य सेवा लिन पनि हप्तौँ कुर्नुपरेको अवस्था छ । कार्यालय समयमै राजनैतिक दलको प्रचारप्रसारमा कर्मचारीले सामाजिक संजाल रंगाउदा समेत नियमनकारी निकाय मौन देखिएका छन् । तसर्थ, जिल्लामा केह कर्मचारीले अनुशासनको धज्जी उडाई समग्र कर्मचारीको बदनाम गरेको हुँदा नियमनकारी निकायले अनुगमनलाई विशेष प्राथमिकता दिन जरुरी छ ।
जिल्लामा रहेका केन्द्र देखि प्रदेश मातहतका केहि कार्यालय प्रमुखले यहाँबाट निर्वाचित सांसदलाई सरकारी गाडीको सुविधा दिने गरेको आरोप लाग्दै आएको छ । त्यसैगरि, जनप्रतिनिधिको आदेशमा निश्चित व्यक्ति र समूहलाई योजना र कार्यक्रम सुम्पिने गरेको तथ्यपनि सार्वजनिक भएका छन् । राजनीतिक दलप्रति कर्मचारीको झुकाव बढ्दा राज्यको सेवा, सुविधा वितरणमै भेदभाव हुने गरेको छ । तसर्थ, जिल्लाका सरकारी कार्यालयमा बढ्दो राजनैतिक प्रभावलाई रोक्न नागरिक समाज, कर्मचारी संगठन लगायत सरोकारवाला निकायले खबरदारि गर्न चुक्नुहुदैँन । अतः सरकारी कार्यालयको कामकार्वाहीको निगरानि बढाउनतर्फ जिम्मेवार निकाय चनाखो हुन आवश्यक छ ।