सिन्धुलीमा वास्तविक किसानले भन्दा अनुदान पचाउने कृषकले राज्यको सेवा, सुविधा प्राप्त गरिरहेका छन् । जिल्लाका स्थानिय तहले बजेटमा सधैँ कृषकलाई प्राथमिकतामा राखेपनि व्यवहारिक रूपमा वास्तविक कृषक स्थानिय तहले वितरण गर्ने अनुदानबाट वञ्चित भईरहेका छन् । तीनै तहको सरकार मातहतका कार्यालयले कृषकको नाममा जालि कृषकलाई महत्व दिएको वास्तविक किसानको गुनासो छ । लम्पी स्किनको महामारीले सिन्धुलीमा सयौँ चौपाया मरेका छन् भने संक्रिमतको संख्या पनि उत्तिकै छ । पशुपालन गरेरै जिवनयापन गर्ने किसानकालागि बज्रपात परेको अवस्था छ । ढिलै भएपनि स्थानिय तह र भेटेरीनरि अस्पताल तथा पशु सेवा केन्द्रले लम्पि स्किन विरूद्धको भ्याक्सिन लगाईरहेको छ । सिन्धुलीमा भ्याक्सिन लगाउने बाहेक कृषकलाई राहत दिने कुनैपनि कार्यक्रम संचालनमा आएको छैन ।
सिन्धुलीमा कृषिको प्रचुर संभावना छ । कृषि क्षेत्रको विकासमा राज्यको संयन्त्र गम्भीर नहुँदा कृषिबाट मनग्य आम्दानि हुन सकिरहेको छैन ।यतिसम्मकि कृषि पेशाकाट कृषकले जिवनयापन गर्न समेत धौँधौँ हुनेगरेको छ । राज्यले दिने सेवा, सुविधा जालि कृषक, कार्यकर्ता र पहुँचवालामै सिमित हुँदा कृषि क्षेत्रप्रति युवाहरूक्षो वितृष्णा बढिरहेको छ । कृषि पेशामै वर्षाैँदेखि लागेका कृषकलाई राज्यले पहिचान गर्न नसक्दा कृषि क्षेत्रको सुधार हुन सकिरहेको छैन । विभिन्न रोग र प्रकोपले कृषकलाई पीडा दिदा समेत कृषिमा आवद्ध संघ, संस्थाले किसानमुखि कार्यक्रम लयाउन नसकेको अवस्था छ ।
तसर्थ, जिल्लामा कृषिको क्षेत्रमा देखिएका समस्याको पहिचान गरि वास्तविक किसानमुखि कार्यक्रम संचालन गर्नतर्फ विशेष ध्यान दिन जरूरी छ । त्यसैगरि, वास्तविक किसानलाई मात्र राज्यको सेवा, सुविधा दिनतर्फ सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । कृषकको नाममा बदमासी गर्ने र अनुदानकालागि मात्रै कृषि फर्म दर्ता गरि अनुदान पचाउने जालि कृषकलाई पहिचान गरि खारेजि वा दण्डित गर्नतर्फ नियमनकारि निकाय चनाखो हुनुपर्दछ । अतः वास्तविक किसानलाई कृषिमा टिकाईराख्न सरोकारवाला निकाय सचेत हुन जरूरी छ ।