सिन्धुलीमा दैनिक दर्जनौँ सडक दुर्घट्ना हुने गरेको छ । तीनवटा राजमार्ग रहेको सिन्धुलीमा दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन् । तर, जिल्लामा सडक सुरक्षाकालागि संघीय सरकारदेखि प्रदेश र स्थानिय सरकार निरीह देखिएको छ । विपी, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गसहित जिल्लाका भित्रि सडकहरुमा सडक सुरक्षाकालागि पर्याप्त पुर्वाधार र उपकरण प्रयोग भएको छैन । देशभरका ७७ जिल्लामध्ये सबैभन्दा बढि जिल्लालाई छोएको सिन्धुलीमा सडक दुर्घटनामा परि वर्षेनि सयौँको मृत्यु हुने गरेको छ ।
तर, जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग मादक पदार्थ सेवन चेकजाँच गर्नेदेखि गति नाप्ने उपकरण समेत पर्याप्त नभएको अवस्था छ । यतिसम्म कि नागबेलि राजमार्गले चिनिने विपी राजमार्गमा सामान्य कन्केभ ऐना राख्न समेत नेतृत्वले कुनै पहल गरेको छैन । सडक दुर्घट्ना न्युनिकरणकालागि सर्वप्रथम प्रविधिलाई अंगाल्न सक्नुपर्छ । सडकमा कन्केभ ऐना देखि गति नाप्ने उपकरण र ठाउँठाउँमा सिसिटिभि जडान गर्नसके केहि हदसम्म मानविय त्रुटिलाई रोकथाम गर्न सकिन्छ । तसर्थ, सडक दुर्घटना जिल्लाकै लागि मुख्य चुनौति बनिरहेको अवस्थामा यहाँका संघदेखि स्थानिय तहका प्रतिनिधिले न्युनतम सुरक्षाका मापदण्ड कार्यान्वयनकालागि पहल गर्न जरुरी छ ।
जिल्लाको कमलामाई नगरपालिका २ स्थित चियाबारि देखि गोलन्जोर गाउँपालिकाको खुर्कोटसम्मको सुरुङमार्ग निर्माणकालागि यहाँका जनप्रतिनिधिले आवाज उठाइरहेका छन् । उक्त सुरुङमार्गको आवश्यकता भएपनि तत्काल भने यहाँका सडक सुरक्षाकालागि जनप्रतिनिधिले पहल गर्नुपर्ने देखिन्छ । जिल्लाको कमलामाई नगरपालिकाले नगरक्षेत्रभित्र विभिन्न ठाउँमा अटोमेटिक नम्बर प्लेट रिकग्निजेसन (एएनपीआर) सिस्टमसहितको क्यामेरा जडान गरि सडक सुरक्षाकालागि पाइला चालेको छ । अन्य स्थानिय तहले पनि सडक सुरक्षालाई विशेष प्राथमिकता दिन जरुरी छ । त्यसैगरि, केन्द्र सरकारबाट आवश्यक उपकरण सिन्धुलीमा भित्राउन संघ देखि प्रदेशका प्रतिनिधिले पहल गर्न आवश्यक छ ।