सिन्धुलीको सरकारी कार्यालयमा सेवाग्राहीहरु अप्रत्यक्ष रुपमा ठगिएको गुनासो बढ्दो छ । सरकारी कार्यालयको बाहिर व्यवसाय संचालन गर्दै आएका लेखनदास, फोटोकपि र प्रिन्ट गर्ने पसल लगायत सहजकर्ताबाटै सेवाग्राही ठगिदैँ आएका छन् । मालपोत कार्यालयदेखि कर कार्यालय र जिल्ला प्रहरी कार्यालय लगायत अधिकांश सरकारी कार्यालयको काममा सेवाग्राहीले चर्को शुल्क तिर्नुपर्ने बाध्यात्मक अवस्था छ । यतिसम्म कि न्यायकालागि अदालत पुग्ने सेवाग्राहीसँग चर्को शुल्क लिएर लेखनदासले अन्याय गरिरहेका छन् ।
वडादेखि पालिका बाहिर रहेका पसलहरुले सेवाग्राहीलाई बजार मुल्य भन्दा बढि शुल्क सहित सेवा दिने गरेका छन् । सरकारी कार्यालय बाहिर रहेका फर्म तथा पसलले चर्को शुल्क लिँदा समेत जिल्ला प्रशासन लगायत सम्बन्धित निकायले सेवाग्राहीलाई ठगिनबाट बच्न कुनैपनि कदम चालेको छैन । तसर्थ, सरकारी कार्यालय आसपासको क्षेत्रमा अनुगमन गर्नतर्फ स्थानिय सरकार, जिल्ला प्रशासन लगायत सरोकारवाला निकायले चासो देखाउन जरुरी छ ।
सरकारी कार्यालयको काम गर्न धेरै समय लाग्ने गरेको सिन्धुली सहित देशभरका सेवाग्राहीले गुनासो गर्दै आएका छन् । सरकारी कार्यालयबाट सेवा लिदा सेवाग्राहीले अनावश्यक चर्को शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउन जिम्मेवार निकाय गम्भिर हुनुपर्द छ । अतः सोझा सेवाग्राहीसँग मनपरि शुल्क लिने व्यापारीलाई कार्वाही गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।