शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

युवालाई नचिन्ने सिन्धुलीको नेतृत्व

आइतवार , श्रावण २८, २०८०

सिन्धुलीमा २३ औँ अन्तर्राष्ट्रिय युवा दिवस वृक्षारोपण लगायत विविध अनावश्यक कार्यक्रम गरि मनाईएको छ । वृक्षारोपण गरिरहदा यहाँका युवाहरुले भने जिल्लाका नेतृत्वले युवाहरुमा नेतृत्व, सिप र क्षमताको विजारोपण गर्न नसकेको आरोप लगाएका छन् । युवा जनशक्तिलाई वास्ता नगर्नेले विरुवाको वास्ता कसरी गर्लान् भन्दै युवा दिवसमा रोपेको बिरुवा जिवित रहनेमा शंका गरिएको छ । स्थानिय, प्रदेश र केन्द्र सरकारका प्रतिनिधिले जिल्लाका युवालाई विदेशिन रोक्न असक्षम देखिएका छन् । युवाहरुको समग्र विकासमा तीनै तहको सरकारका प्रतिनिधि लाचार देखिएको अवस्था छ । स्थानिय तह देखि निजि तथा गैरसरकारी संस्थामा आफू नजिकका मान्छेलाई भर्ति गर्न तम्सिने जनप्रतिनिधिले सक्षम, क्षमतावान र योग्य उम्मेदवारलाई अप्रत्यक्ष रुपमा राज्यप्रति वितृष्णा बढाईरहेका छन् । राज्यले युवालाई दिने अनुदान लगायत विविध सुविधामा राजनिनितिकरण हुने गरेको छ । राजनैतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिले राज्यले दिने सुविधा कार्यकर्तालाई नै सुम्पिन पाए खुशी हुने गरेका छन् । यतिमात्र नभएर सिपमुलक कार्यक्रमको नाममा राज्यको लगानी कार्यकर्ता प्रशिक्षणमा प्रयोग भइरहेको छ ।

युवालाई राज्यको व्यवस्था, प्रणालि र नेतृत्वका बारेमा सचेत गराउन जिल्लाका कुनैपनि नेतृत्वले चासो देखाएका छैनन् । बालबालिकालाई पार्टी प्रवेश गर्न विद्यालय धाउने राजनितिक दलका विद्यार्थी संगठनले विद्यालयका सरोकारवाला निकाय को हुन्, विद्यालयलाई कहाँबाट आर्थिक जोहो हुन्छ लगायत विद्यालय कसरी चल्छ र विद्यालयमा के कस्ता आर्थिक अनियमितता हुन सक्छ भन्ने चेत विकास गर्न भने कुनै प्रभावकारी कार्यक्रम संचालन नगरेको अवस्था छ । युवालाई सचेत नगराएसम्म सामुदायिक विद्यालय देखि स्थानिय सरकारमा छोटे राजाको जन्म भइरहन्छ । तसर्थ, युवालाई चनाखो बनाउन जनप्रतिनिधिदेखि यहाँका राजनितिकर्मी गम्भिर हुन जरुरी छ ।

साफ यु १९ च्याम्पियनसिप प्रतियोगिता २०२३ का लागि सिन्धुलीबाट जम्मा एक जना खेलाडी छनोट प्रक्रियामा परेका छन् । बागमती प्रदेशका अन्य जिल्लाको तुलनामा सिन्धुलीबाट जम्मा एकजना खेलाडी मात्र छनोट प्रक्रियामा पुग्नु भनेको जिल्लामा खेल क्षेत्रको विकासमा कुनैपनि निकाय गम्भिर छैनन् । खेलकुद देखि शिक्षा, रोजगारी लगायत युवाको समग्र विकासमा यहाँका सरोकारवाला निकायलाई चासो छैन । तसर्थ, युवा दिवसमा बिरुवा रोप्ने भन्दा पनि युवामा क्षमता, सिप र नेतृत्वको बिजारोपण गर्नतर्फ नेतृत्व अग्रसर हुनुपर्दछ । अतः युवाहरु देशको भविष्य हुन् र उनीहरुलाई सक्षम र सचेत बनाउने कर्तव्य राज्यको पनि हो ।

प्रतिक्रिया