बुधबार सिन्धुलीको कमलामाई नगरपालिकामा बजार अनुगमन गर्दा एक पसलमा अखाद्य सामाग्री फेला परेको छ । वडा नम्बर ४ मा रहेको कमला सप्लायर्सले घुनसहितको चामल बिक्री गर्ने गरेको अनुगमन समितिले फेला पारेको छ । यतिमात्र नभएर, उक्त सप्लायर्सले रिप्याकेजिङ गरेर चामल लगायत विभिन्न सामाग्री बेच्ने गरेको खुलेको छ । सो सप्लायर्सले बिक्री गरेको सामाग्रीमा कम्पनीको प्याकेट र सामाग्री फरक–फरक हुने गरेको स्थानिय उपभोक्तालो बताउने गरेका छन् ।
ब्राण्डेड कम्पनीको खोल भित्र स्थानिय सामाग्री भरेर कमला सप्लायर्सले बिक्री गर्ने गरेको उपभोक्ताले बताउदैँ आएका छन् । कोरोना महामारीको बेलामा समेत अखाद्य सामाग्री बजार भाउ भन्दा बढिमा विक्री गरेको भन्दै अनुगमन समितिले उक्त पसललाई कार्वाही गरेको थियो । बजार अनुगमन गर्दा सधैँ दोषि ठहरिने तर सामान्य कार्वाहीपछि पसल पुनः संचालनमा आउने गरेको स्थानियले बताउने गरेका छन् । तसर्थ, प्रारम्भिक अनुसन्धानबाट खुलेको तथ्यलाई नमोडि सत्य, तथ्य र निष्पक्ष अनुसन्धान गर्दैै दोषि ठहरिएमा कार्वाहीको दायरामा ल्याउनतर्फ जिल्लास्थित खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।
बजार अनुगमनमा दोषी देखिएको व्यवसायलाई तत्काल तालाबन्दी गरिएपनि प्रक्रियानै पुरा नगरी पुनः संचालनमा आउने गरेको छ । जिल्लामा बजार अनुगमन हात्तीको देखाउने दाँत जस्तो मात्र भएको उपभोक्ताले बताउने गरेका छन् । बजार अनुगमन सबैले देख्ने भएपनि बजार अनुगमनपछि हुने साँठगाँठ गोप्य रहने गरेको स्थानियले गुनासो गरेका छन् । विगतमा अखाद्य सामाग्री चर्को मूल्यमा बिक्री गरेको पसलले कानुनी प्रक्रिया पुरा नगरि पुनः अखाद्य सामाग्री बेच्दै संचालनमा आएपछि स्थानियले अनुगमन समितिप्रतिनै शंका व्यक्त गरेका हुन् । तसर्थ, नागरिकको शंकालाई दुर गराउन निष्पक्ष छानविन गरि बिना स्वार्थ कानुनी प्रक्रिया अघि बढाउन जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ । अतः जिल्लामा बजार अनुगमनलाई प्रभावकारी बनाउनतर्फ सम्बन्धित निकाय सचेत हुन आवश्यक छ ।