विगत दुई दिनको अविरल वर्षातले सिन्धुलीमा ताण्डव मच्चाएको छ । अविरल वर्षातका कारण बाढी र पहिरोले सिन्धुलीमा मानविय तथा भौतिक क्षति पुर्याएको छ । जिल्लामा रहेका सडकहरु अवरुद्ध भएका छन् भने पहिरोले घरसमेत बगाएको छ । बाढी र पहिरोले जिल्लाको कमलामाई र दुधौली नगरपालिकासहित नौँवटै स्थानिय तहका नागरिक आक्रान्त बनेका छन् । विपी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पलाल लोकमार्ग सहित जिल्लाका भित्रि सडक हुदैँ यात्रा गर्ने यात्रुहरु त्रसित भएको अवस्था छ । कमला, बागमती, मरिण, चँदाहा, सुनकोशी, तावा लगायतका नदी तथा खोला किनार नजिकका बस्तीहरुमा बाढी र पहाडी भिरालो भूभागमा बसोबास गर्नेहरुमा पहिरोको त्रास बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले आगामी दुई दिनसम्म निरन्तर वर्षा हुने अनुमान गरेसँगै तटिय क्षेत्रका सर्वसाधरण जागराम बसिरहेका छन् । भिरालो जग्गामा घर भएका सर्वसाधरणहरुलाई ओत लाग्ने सुरक्षित ठाउँ नहुँदा जोखिमयुक्त घरमा बस्न बाध्य छन् । तसर्थ, जिल्लाका स्थानिय तह, जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन, सुरक्षा संयन्त्र लगायत जिम्मेवार निकायले जिल्लामा कुनैपनि मानविय क्षति हुन नदिनकालागि जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न यथाशिघ्र आवश्यक कदम चाल्न जरुरी छ ।
बाढी र पहिरोले सिन्धुलीवासिलाई वर्षेनि सताउने गरेको छ । सरकारको नेतृत्व गर्ने निति निर्माताले पुर्वतयारी नगर्दा वर्षेनि प्राकृतिक प्रकोपबाट नागरिकको मृत्यु भइरहेको छ । तसर्थ, प्राकृतिक प्रकोपको जोखिमबाट बच्न पुर्वतयारीमा जुट्ने चेत जिम्मेवार निकायमा पलाउन आवश्यक छ । त्यसैगरि, राज्यको संयन्त्र परिचालनमा समेत राजनितिक नेतृत्व गम्भिर हुन आवश्यक छ । अतः जोखिमयुक्त क्षेत्रबाट तत्काल नागरिकलाई स्थानान्तर गर्नतर्फ सम्बन्धित निकायले आवश्यक कदम चाल्न ढिलाई गर्नहुदैँन ।