शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

अराजकतालाई प्रश्रय नदेऊ

बुधवार , श्रावण २४, २०८०

सिन्धुलीमा राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिइरहेका छन् । कर्मचारीमाथि अभद्र व्यवहार गर्ने, कर्मचारीलाई अपशब्द प्रयोग गर्ने, आफूले भनेको कुरा नमाने शक्ति केन्द्र धाएरै कर्मचारीको सरुवा गर्ने लगायत सार्वजनिक स्थानमा कार्यकर्ता एक्कठा पारि झगडा गर्न खोज्ने राजनीतिक प्रवृत्ति जिल्लामा देखिएको छ । जनताले निर्वाचित गराएका केहि प्रतिनिधिले कानुनलाई हातमा लिएर जिल्लामा अराजक गतिविधि गरिरहेका छन् । कर्मचारीको कठालो समात्ने देखि सार्वजनिक जग्गा अतिक्रमणको विरोध गर्दा स्थानियलाई मरणासन्न हुने गरी कुटपिट गर्ने जनप्रतिनिधिको संरक्षणमा जिल्लाका राजनैतिक दल दत्तचित्त भएर लाग्नु दुखद हो ।

जनप्रतिनिधि जनताको सेवक हुन् । तर, तीनै जनताको मत पाएर सत्तामा पुगेका जनप्रतिनिधिले आफूलाई शासक सम्झिएपछि नागरिक निराश भएको अवस्था छ । देशमा कानुन छ । कसैले कानुन विपरित केहि गर्छ भने कानुनि प्रक्रियाबाटै उपचार खोज्नुपर्छ । तर, कानुनलाई हातमा लिएर आफूनै सर्वश्व हुँ भन्ने अहमता सिन्धुलीका केहि जनप्रतिनिधिमा देखिएको छ । तसर्थ, राजनीतिक दलले आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिलाई राजनितिक संस्कार, शिष्टाचार, आचार र कर्तव्यको पाठ सिकाउन जरुरी छ ।

जिल्लाको गोलन्जोर गाउँपालिकाको कार्यालयमा मंगलबार राजनैतिक दलका कार्यकर्ताले देखाएको हर्कतले पनि जिल्लाका राजनितिक नेतृत्वको कुसंस्कारलाई स्पष्ट देखाएको छ । कुनै एक जनप्रतिनिधिले गल्ति गरे भन्दैमा कार्यकर्ता जम्मा पारेर गाउँपालिका घेर्न लगाउनु राजनैतिक अराजकताको पराकाष्ठ हो । वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान खोज्नुको सट्टा कार्यकर्ता भेला पारि प्रदर्शनमा उत्रनु गैरजिम्मेवारीपनको हद हो । तसर्थ, जिल्लाका राजनीतिक दलले शक्ति प्रदर्शन गरेर समाधान खोज्ने भन्दापनि वार्ता र छलफललाई विशेष प्राथमिकता दिन जरुरी छ । त्यसैगरि, अराजक प्रवृत्तिप्रति राजनीतिक दलले शुन्य सहिषुणता अनपनाउनुपर्छ ।

प्रतिक्रिया