शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

शिक्षामा राजनैतिक हस्तक्षेप नगर

मंगलवार , श्रावण २३, २०८०

सिन्धुलीको तीनपाटन गाउँपालिकास्थित एक सामुदायिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । तीनपाटनको वडा नम्बर १ मा रहेको कमला माध्यमिक विद्यालयमा चार महिना देखि शिक्षक भर्ना हुन नसकेको भन्दै पठनपाठनलाई सहज बनाउन मागसहित विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । अभिभावकको भेलाबाट विद्यालयको व्यवस्थापन समिति गठन गर्नुपर्ने कानुनि प्रावधान भएपनि राजनैतिक हस्तक्षेपका कारण विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउन सकिरहेको छैन । सविधानतः माध्यमिक तहसम्मको शिक्षा स्थानिय तहको मातहतमा रहने व्यवस्था छ । तर, तीनपाटन गाउँपालिकाले उक्त विद्यालयमा चार महिनादेखि चारवटा विषयको शिक्षक रिक्त हुँदा समेत कुनैपनि चासो देखाएको छैन ।

व्यवस्थापन समितिलाई देखाएर शिक्षक नियुक्ति हुन नसकेको भन्दै स्थानिय तह पन्छिनु भनेको गैरजिम्मेवारपनको हद हो । विद्यालयमा राजनैतिक हस्तक्षेप नरोकिएसम्म शैक्षिक नतिजा सुधार हुन सक्दैन । तसर्थ, कमला माध्यमिक विद्यालयमा यथाशिघ्र व्यवस्थापन समितिलाई पूर्णता दिएर शिक्षक नियुक्ति गर्नतर्फ गाउँपालिकाले अग्रसरता देखाउन जरुरी छ ।

सिन्धुलीका सामुदायिक विद्यालयहरुको शैक्षिक नतिजाले वर्षेनि उदोगति लिईरहेको छ । स्थानिय तहले हरेक आर्थिक वर्षमा शिक्षालाई प्राथमिकता दिएपनि शैक्षिक गुणस्तरीयता कायम हुन नसक्नु दुर्भाग्यनै हो । त्यसैगरि, राजनैतिक दलका विद्यार्थी संगठनले शिक्षामा देखिएको बेथिति विरुद्ध आवाज उठाउने भन्दा पनि समस्यालाई देखाएर मोलमोलाई गर्ने गरेको अभिभावकहरुले गुनासो गरेका छन् । तीनपाटनमा विगत चार महिनादेखि चारवटा विषयका शिक्षक रिक्त हुँदा समेत विद्यार्थी संगठन मौन देखिनुले जिल्लामका विद्यार्थी संगठनको दुर्भलता र वास्तविक अवस्थालाई स्पष्ट देखाएको छ । तीनपाटनमा मात्र नभएर जिल्लाका अन्य पालिकामा समेत शैक्षिक क्षेत्रको दुर्गतिनै छ । तसर्थ, जिल्लाको शिक्षा क्षेत्रलाई सफा, गुणस्तरीय एवं व्यवस्थित बनाउनतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । मुख्यतः शिक्षा क्षेत्रमा सुधार ल्याउन स्थानिय तहले आफ्नो भुमिका निभाउन गम्भिर हुन जरुरी छ ।

प्रतिक्रिया