शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

मेलालाई व्यवस्थित बनाऊ

सोमवार , श्रावण २२, २०८०

श्रावण महिनामा सिन्धुलीका शिवालयमा भक्तजनको भिड हुने गरेको छ । विशेषगरि, सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर २ स्थित मधुगंगा महादेव मन्दिर, कमलामाई नगरपालिकाको शिद्धबाबा मन्दिर, सुनकोशीस्थित आदिलिंग कुशेश्वर महादेवर मन्दिर लगायत नौवटै स्थानिय तहमा रहेका शिवालयमा श्रावणको सोमबार भक्तजनको घुँइचो लाग्ने गरेको छ । दुधौली नगरपालिकाले त श्रावण महिनामा लाग्ने मेलाको व्यवस्थापनकालागि ठेक्कानै लगाएको छ । मधुगंगा मेलामा सवारी पार्किङ शुल्क र बहाल विरौटी कर संकलनकालागि नगरपालिकाले ठेक्का लगाएको छ । यता, भक्तजनले भने सवारी पार्किङ गरेको चर्को शुल्क लिएको भन्दै विरोध गरेका छन् ।

ठेकेदार कम्पनिले मनलाग्दी जथाभावि पार्किङ शुल्क लिएको भन्दै गुनासो पोखेका छन् । मेलालाई व्यवस्थित बनाउनेतर्फ स्थानिय सरकारले ठेक्का लगाएर पार्किङ शुल्क उठाउन खोजेपनि भक्तजनहरु चर्को शुल्क तिर्न बाध्य छन् । मन्दिरमा प्रवेश गर्न शुल्क नलागेपनि पार्किङको नाममा मन्दिरबाट आयआर्जन गर्नु न्यायोचित नभएको स्थानियले आक्रोश पोखेका छन् । तसर्थ, स्थानिय सरकारले मधुगंगामा ठेकेदार कम्पनिले मनलाग्दी शुल्क उठाएको प्रति खबरदारि गर्न जरुरी छ । त्यसैगरि, नगर प्रहरीलाई मेलाको व्यवस्थापनमा खटाउनतर्फ पनि स्थानिय सरकारको ध्यान जान आवश्यक छ ।

मधुगंगामा मात्र नभएर अन्य शिवालयमा समेत व्यवस्थापनमा कमजोरी देखिएको भक्तजनले पिडा पोखेका छन् । भक्तजनको भिड हुने मन्दिरमा पुजाअर्चना गर्न व्यवस्थापकिय पक्ष मजबुत हुनुपर्दछ । अतः आज सोमबार शिवालयमा पुग्ने भक्तजनले अनायसै दुख भोग्नु नपर्ने अवस्था सिर्जना गर्नतर्फ मन्दिर व्यवस्थापन समिति, जिल्ला प्रशासन लगायत सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

 

प्रतिक्रिया