शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

शिक्षक नियुक्तिमा बदमासि नगर

शुक्रवार , श्रावण १९, २०८०

सिन्धुलीको तीनपाटन गाउँपालिकामा शिक्षक नियुक्ति गर्दा बदमासि भएको भन्दै छनोट प्रक्रिया रद्ध गरिएको छ । तीनापाटनको वडा नम्बर ८ मा रहेको बैंकटेश्वर माध्यमिक विद्यालयमा निम्न माध्यमिक तहका लागि विज्ञान शिक्षक छनोट गर्दा मिलेमत्तो भएको खुल्नमा आएको छ । प्रक्रिया पुरा गर्नकालागि मात्र परिक्षा संचालन गरिएको प्रमाणहरुले देखाएको छ । परिक्षा अगावै उम्मेदवारमध्यको एकजनालाई प्रश्नपत्रसहित उत्तर उपलब्ध गराइएको तथ्य फेला परेको छ ।

बैंकटेश्वर विद्यालयमा विज्ञान शिक्षक छनोट गर्दा देखिएको बदमासि त एउटा उदाहरण मात्र हो । आफूले इच्छाएको शिक्षकलाई छनोट गर्न आनाकानि गरेको भन्दै प्रशासकिय अधिकृतलाई नै सरुवा गर्न तीनपाटनका प्रमुख तम्सिएको विगतको घट्ना ताजै छ । उक्त घट्ना सेलाउन नपाउदैँ शिक्षक छनोटमा अर्को बदमासिको घट्ना सार्वजनिक भएको छ । संविधानतः माध्यमिक शिक्षा सम्मको जिम्मेवारी र अधिकार स्थानीय सरकार मातहत व्यवस्था गरिएको छ । उक्त अधिकारको दुरुपयोग गर्दै स्थानिय तहले शैक्षिक संस्थालाई कार्यकर्ता भर्ति केन्द्र बनाएका छन् । तसर्थ, शिक्षक छनोट गर्दा स्थानिय सरकारले निश्चित व्यक्ति र कार्यकर्तालाई मात्र प्राथमिकता दिने भन्दा पनि सक्षम र क्षमतावान् उम्मेदवारलाई विशेष प्राथमिकतामा राख्न जरुरी छ ।

शिक्षक छनोट समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संयोजक रहने गरि विद्यालयका प्रधानाध्यापक सदस्य सचिव र उक्त वडाको अध्यक्ष, गाउँपालिकाको एकजना प्रतिनिधि र मनोनित विज्ञ सदस्य रहने व्यवस्था छ । प्रश्नपत्र बनाउने विज्ञ भने गोलाप्रथाबाट छानिने गरिन्छ । स्थानिय तहले प्रश्नपत्र निर्माण गर्ने विज्ञलाई नियममा बाँध्न नसक्दा शिक्षक छनोटमा बदमासि हुने गरेको छ । तसर्थ, स्थानिय तहले शिक्षक तथा कर्मचारी नियुक्ति तथा व्यवस्थापन सम्बन्धी कार्यविधिमा विज्ञ वा जनप्रतिनिधि र अन्य कोहिपनि कर्मचारीले शिक्षक नियुक्तिमा बदमासि गर्न नमिल्नेगरि कडा नियम बनाउनतर्फ जोड दिनुपर्छ । अतः स्थानिय तहको मातहतमा माध्यमिक तहसम्मको शिक्षा आएपछि सिन्धुलीमा शिक्षा क्षेत्र झनै विकृत भइरहेको हुँदा जिल्लाका नौँवटै स्थानिय तहले शिक्षा सुधारका कार्यक्रम संचालन गर्नतर्फ विशेष ध्यान दिन आवश्यक छ ।

 

प्रतिक्रिया