शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा पनि बढ्दै आँखा पाक्ने रोगका बिरामी

बिहिवार , श्रावण १८, २०८०

सिन्धुली – आँखा पाक्ने रोग फैलिएपछि सामुदायीक आँखा अस्पतालमा बिरामीको भिड बढ्न थालेको छ । अहिले सिन्धुलीमा रहेको सामुदायीक आँखा उपचार केन्द्रमा बिरामीको चाप बढेको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले सञ्चालन गरेको आखा अस्पतालमा दैनिक १ सय ५० को हाराहारीमा बिरामीहरु पुग्ने केन्द्रले जनाएको छ ।

पानी पर्ने यो सिजनमा आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या देखिने सामुदायीक आँखा उपचार केन्द्रका प्रमुख धन बहादुर थापामगरले बताउनुभयो । हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् । उहाँका अनुसार यो सरुवा रोग हो ।

सरुवा रोग भएकाले एउटै घरका धेरै व्यक्तिमा आँखाको समस्या देखिएको पाइएको छ । त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल प्रयोग नगर्न र सिधै बिरामीको आँखामा नहेर्न उहाँको सुझाव छ । आँखा पाक्ने रोग मौसम परिवर्तनसँगै हुने भएकाले यो दीर्घकालीन समस्या नभएको थापाले बताउनुभयो ।

थापाका अनुसार सामान्यतया यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जचाएर मात्र औषधि प्रयोग गर्न उहाँको सल्लाह छ ।

आँखा पाक्ने रोगबाट बच्न धुवाँधुलोबाट जोगिन, घरबाहिर जाँदा घामबाट जोगिनको लागि चश्मा लगाउन, मन तातोपानीले बिहान बेलुका सफा गर्न र प्रशस्त मात्रामा पानी पिउन पर्ने चिकित्सकहरुको सल्लाह छ ।

 

प्रतिक्रिया