शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सर्वसाधरणको करमा रजगज नगर

सोमवार , श्रावण १५, २०८०

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका कर्मचारीले सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गरेको विषयले सामाजिक संजाल तातिएको छ । कर्मचारीले बिदाको दिन सरकारी गाडी प्रयोग गरि भ्रमणमा निस्किएपछि राज्यको सम्पत्ति दुरुपयोग भएको भन्दै विरोध भइरहेको छ । सर्वसाधरणको करमा कर्मचारी र जनप्रतिनिधिले रजगज गरेको यो पहिलो घट्ना भने होइन । गत आर्थिक वर्ष २०७९/०८० मा मात्र जिल्लाका नौँवटा स्थानिय तहले झण्डै एक करोड बढिको इन्धन खपत गरेको तथ्यांकले देखाएको छ । जिल्लाका स्थानिय तहमा सरकारी गाडीको व्यापक दुरुपयोग भइरहेको छ । पार्टीको कामदेखि आफन्त ओसारपसार गर्नसमेत स्थानिय तहका गाडी प्रयोग भएको इन्धन खपतको विवरणले स्पष्ट देखाउँछ । सरकारी गाडी मात्रै नभएर जिल्लामा अन्य सरकारी सम्पत्तिको समेत दुरुपयोग भइरहेको विभिन्न तथ्यांकले देखाउँछ । तसर्थ, सरककारी सम्पत्तिको दुरुपयोग रोक्न जिल्ला प्रशासन कार्यालयले सिन्धुलीमा रहेका सरकारी कार्यालयलाई खबरदारि गर्न जरुरी छ । यतिमात्र नभएर नागरिक समाज, पत्रकार लगायत आमनागरिकले सरकारी सम्पत्तिको दुरुपयोग रोक्न आ–आफ्नो ठाउँबाट भुमिका निभाउन चुक्नुहुदैँन ।

सरकारी कार्यालयका प्रतिनिधिहरुले राजनैतिक दलको संरक्षण पाउँदा बेथिति मौलाउँदै गएको छ । केन्द्र र प्रदेशका जनप्रतिनिधिलाई गाडीदेखि इन्धनको सुविधा दिन केहि सरकारी कार्यालय र स्थानिय तहका प्रमुख हरदम तयार हुने गरेको कर्मचारीलेनै बताउने गरेका छन् । तसर्थ, जनप्रतिनिधिले राज्यको सम्पत्तिमा र्‍याल चुहाएर जिल्लामा बेथितिलाई मलजल गर्नुहुदैँन । अतः राज्यको सम्पत्तिमा आम नागरिकको थोपाथोपा पसिनाको योग्दान रहेको सम्बन्धित सबै पक्षले बुझ्न जरुरी छ ।

 

प्रतिक्रिया