शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कानुन विपरित योजना नसुम्पेउ

आइतवार , श्रावण १४, २०८०

सिन्धुलीमा सार्वजनिक खरिद ऐन विपरित निर्माण तथा आपूर्ति योजना निश्चित कम्पनिलाई सुम्पिने गरेको ठेकेदारहरुले गुनासो गरेका छन् । केन्द्र, प्रदेश र स्थानिय तह मातहतका केहि कार्यालयले मिलेमत्तोमा ठेक्का सुम्पिने गरेको व्यवसायीको आरोप छ । जिल्लामा तीन तहका सरकारले वर्षेनि सयौँ योजनाको टेण्डर आह्वान गर्ने गरेका छन् । सार्वजनिक निकायले प्रतिस्पर्धी मूल्यका लागि निर्माण तथा आपूर्तिकर्ता छान्न ठेक्का लगाउँछन् । तर, पछिल्ला वर्ष मिलेमतोमा पहिल्यै ठेकेदार छानेर प्रक्रिया पूरा गर्न मात्रै ठेक्का लगाउने प्रचलन मौलाउँदो छ । यस्ता नियोजित ठेक्काले राज्यको श्रोत–साधनमा सीमित व्यवसायी र सरकारी अधिकारीलाई मनपरी गर्ने ठाउँ दिइरहेको छ र जोगिनसक्ने राज्यको श्रोत पनि दुरुपयोग भइरहेको छ ।

मिलेमतो भएपछि ठेक्काभित्रका समय, लागत, परिमाण र गुणस्तर सबैमा प्रभाव पर्छ । त्यसले आयोजनाहरूको व्यवस्थापन नै बिथोलिन्छ । ठूला ठेकेदार मात्रै हैनन्, सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीसँगको मिलेमतोमा मध्यम र साना काम गर्ने ठेकेदार समेतले पनि मिलेमतोमा टेन्डर हात पार्न थालेका छन् । यस्तो रोग सिन्धुलीमा फैलिदैँ गएको छ । तसर्थ, जिल्लामा कानुनविपरित योजना सुम्पिने प्रथालाई हटाउन निर्माण व्यवसायी संघ, संघ तथा प्रदेशका जनप्रतिनिधि लगायत सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ । अतः ठेक्कामा प्रतिस्पर्धा खुम्च्याउने सरकारी प्राविधिक तथा कर्मचारीको पहिचान गरि गैरकानुनि कार्य रोक्नतर्फ जिम्मेवार निकायको बेलैमा ध्यान जानुपर्दछ ।

 

प्रतिक्रिया