शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

दुर्व्यसनि विरुद्ध जुटौँ

शनिवार , श्रावण १३, २०८०

सिन्धुलीमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दो छ । जिल्लामा विद्यालय जाने विद्यार्थी देखि बालबच्चा भएका वयस्क लागुऔषधको दलदलमा फसिरहेका छन् । भारतसँगको नजिक दुरीका कारण जिल्लामा लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ । केहि किलोमिटर मात्रै टाढा रहेको नेपाल भारत सिमामा दैनिक पुगेर युवाहरुले लागुऔषध सेवन गरिरहेका छन् । जिल्लामै अन्य व्यापार व्यवसाय (कपडा ब्यापार)गर्दै आएका व्यापारीले समेत लुकाईछिपाई लागुऔषध भित्राइरहेको अवस्था छ । ती व्यापारीलाई राजनैतिक दलका नेताहरुकै संरक्षण रहेको सूचना बाहिरीएको छ । यतिमात्र नभएर प्रहरी प्रशासनले कडाई नगर्दा लागुऔषध विपी राजमार्ग हुदैँ अन्य जिल्लामा समेत आपूर्ति भइरहेको छ । लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढिरहदा स्थानिय सरकारपनि कानमा तेल हालेर बसेको अवस्था छ । लागुऔषधविरुद्ध सडक नाटक र सचेतना कार्यक्रम मात्रै संचालन गरेर लागुऔषध प्रयोगकर्ताको संख्या घट्छ भन्नु अत्युक्ति हो । तसर्थ, लागुऔषधको दलदलबाट युवाहरुलाई निकाल्न प्रहरीले निर्मम भएर अघि बढ्न जरुरी छ । प्रहरीले मात्रै लागुऔषध रोकथाम र नियन्त्रण गर्न सक्दैनन् । प्रहरीलाई आवश्यक सामाग्री उपलब्ध गराउन स्थानिय सरकारले कञ्जुुस्याईँ गर्नुहुदैँन ।

सिन्धुलीलाई तीनवटा राष्ट्रिय राजमार्गले छोएको छ । सिन्धुली हुदैँ दैनिक हजारौँ साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन् । तर, दुर्भाग्यनै भन्नुपर्छ जिल्लामा मादक पदार्थ सेवन परिक्षण गर्ने उपकरण समेत छैन । तसर्थ, प्रदेश देखि केन्द्रसम्म पहुँच राख्ने नेता तथा जनप्रतिनिधिले सडक सुरक्षाको सवालमा जिल्लामा मापसे देखि लापसे परिक्षण गर्ने उपकरणको व्यवस्था गर्न विशेष पहल गर्न आवश्यक छ । अतः जिल्लामा लागुऔषध विरुद्ध महाअभियान संचालन गर्दै दुर्व्यसनि विरुद्ध एकजुट हुन जरुरी छ ।

प्रतिक्रिया