शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

छात्रवृत्ति बितरणमा राजनिति नगर

बुधवार , श्रावण १०, २०८०

सिन्धुलीका शैक्षिक संस्थाले छात्रवृत्ति वितरणमा मनलाग्दी गरेको आरोप लाग्दै आएको छ । गरिब, जेहेन्दार, दलित लगायत पिछडिएका वर्गका विद्यार्थीलाई वितरण गर्नुपर्ने छात्रवृत्तिमा मनपरि भएको भन्दै विद्यार्थीले विरोध गर्दै आएका छन् । यतिमात्र नभएर परिक्षाको नतिजाका अनुसार वितरण हुने छात्रवृत्तिमा समेत शिक्षकले राजनिति गर्ने गरेको विद्यार्थीको गुनासो छ । विद्यार्थीलाई प्रयोगात्मक अंकमा भेदभाव गर्दा वास्तविक विद्यार्थीले छात्रवृत्ति पाउन वञ्चित भएका छन् । विद्यार्थीको योग्यताको अनुसार प्राविधिक अंक (प्राक्टिकल अंक) नदिई शिक्षकले मनलाग्दी गर्दा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउन सकेका छैनन् । त्यसैगरि, छात्रवृत्ति मिलाइदिन्छु भन्दै विद्यार्थीबाट पैसा समेत उठाएको घट्ना विगतमा सार्वजनिक नभएका होइनन् । कक्षा ११ र १२ मा अध्ययन गर्ने गरिब, विपन्न तथा जेहेन्दार १० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । तर, छात्रवृत्तिका विषयमा विद्यार्थी र उनीहरुका अभिभावकले जानकारी नपाउँदा लक्षित समुदाय वञ्चित हुँदै आएका छन् । स्थानीय सरकारहरुले पनि निगरानी गर्न सकेका छैनन् । तसर्थ, छात्रवृत्ति वितरणमा स्थानिय सरकारदेखि शैक्षिक संस्था गम्भिर हुन जरुरी छ ।

सरकारले शिक्षामा पहुँच पुर्‍याउन विभिन्न प्रकारका छात्रावृत्ति उपलब्ध गराए पनि सही र पर्याप्त सूचनाको अभावमा विद्यार्थीहरू त्यसलाई प्राप्त गर्न सकिरहेका छैनन् । सूचना प्रवाहमा शैक्षिक संस्थाले कञ्जुुस्याईँ गर्दा विद्यार्थीले जानकारी नपाएको गुनासो छ । तर, सधैँ आलोचना गरेर मात्र समस्याको समाधान हुदैँन । तसर्थ छात्रवृत्तिका लागि विद्यार्थी स्वयं जागरुक हुन जरुरी छ । अतः छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन शैक्षिक संस्था, स्थानिय सरकार, विद्यार्थी संगठन, शिक्षा विकास तथा समन्वय एकाई लगायत सम्बन्धित निकाय गम्भिर हुनुपर्दछ ।

प्रतिक्रिया