बागमती प्रदेशका १३ जिल्ला मध्ये सिन्धुलीमा सबैभन्दा बढि गाई भैँसीमा लम्पी स्किन रोग देखिएको छ । जिल्लाका २४ हजार ४४ वटा गाई र ४६ भैँसीमा लम्पी स्किन रोग देखिएको छ भने छ सय ४६ गाई र चारवटा भैँसीको मृत्यु भइसकेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयको तथ्यांकले देखाएको छ । लम्पी स्किन संक्रामक रोग भएकाले सावधानि नअपनाएमा संक्रमित पशुुबाट अन्य पशुुमा समेत फैलिने गर्दछ । जिल्लामा लम्पी स्किनकै कारण किसानले करोडौँको क्षति बेहोर्नुपरेको छ । उक्त रोग लागिसकेको चौपायाको उपचार संभव छैन । तर, उक्त रोग फैलिन नदिन खोप लगाउन सकिन्छ । रोग लाग्नुअघिनै चौपायालाई खोप लगाएमा धेरै हदसम्म लम्पी स्किन रोग नियन्त्रण गर्न सकिन्छ । रोग नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय खोप भएकाले छोटो र सहज विधिबाट खोप खरीद गरी सबै उमेर समूह र अवस्थाका गाईलाई यथाशिघ्र खोप लगाउन सम्बन्धित निकायले पहल गर्न जरुरुी छ । त्यस्तै, तीनै तहको सरकारको समन्वयमा रोग सर्वेलियन्स, भ्याक्सिनेसन र जनचेतनाका कार्यक्रमहरू संचालन गर्न आवश्यक छ । जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नौँवटै स्थानिय तहमा खोप उपलब्ध गराएपनि पर्याप्त मात्रामा खोप नहुँदा लम्पी स्किन रोगले विकराल समस्या ल्याउने निश्चित छ ।
लम्पी स्किनका कारण जिल्लामा दूध उत्पादनमा गिरावट भएको छ । लामखुट्टे, झिंगा, कीरा आदिको टोकाइको माध्यमबाट फैलन सक्ने यो रोगबाट बचाउन गोठको सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ । किसानलाई लम्पी स्किनका बारेमा पर्याप्त ज्ञान नहुँदा सावधानि अपनाउन नसकेको अवस्था छ । तसर्थ, स्थानिय सरकार र भेटेरनरि अस्पतालले व्यापक जनचेतना फैलाउन कुनै कञ्जुस्याईँ गर्नुहुदैँन ।
लम्पी स्किनले जिल्लाका किसानलाई बज्रपात परेको अवस्था छ । वर्षात्को समयमा उक्त रोग फैलिने संभावना झनै बढ्ने हुँदा किसानहरु पीडाले रन्थनिएको अवस्था छ । एकातर्फ लाखौँको पशुचौपाया मृत्यु भइसकेको र अर्कोतर्फ झनै संक्रमणले भयावह स्थिति लिन सक्ने भन्दै किसान त्रसित भएका छन् । तसर्थ, स्थानिय सरकार र तीनै तहका सरकारले किसानको घाउमा मलम लगाउन राहतका कार्यक्रम ल्याउन जरुरी छ । किसानको पीडा राज्यको पीडा हो । त्यसैले, उनीहरुलाई एक्लो महशुश हुन नदिन हातमा हात, साथमा साथ दिएर अघि बढ्नतर्फ सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।