शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

प्रमुख अतिथिको मोह त्याग

शुक्रवार , श्रावण ५, २०८०

सिन्धुलीबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो हैसियतनै बिर्सेर सानातिना कार्यक्रममा समेत उपस्थिति जनाउने गरेका छन् । स्थानिय तहदेखि प्रतिनिधिसभा र प्रदेशसभाका सांसददेखि मन्त्री समेतले आफूलाई निमन्त्रणा आएको जस्तोसुकै कार्यक्रममा पनि उपस्थित भएर आफैँले आफ्नो मजाक बनाइरहेका छन् । ‘काम कुरा एकातिर, कुम्लो बोकि ठिमीतिर’ भनेझैँ प्रमुख अतिथिको सम्मान पाउने भएपछि आफ्नो कर्तव्यनै बिर्सेर कार्यक्रममा उपस्थिति जनाउनु लज्जास्पद हो । आफूले मत दिएर जिताएको उम्मेद्वारका हरेक गतिविधिलाई मतदाताले निगरानि गरिरहेका हुन्छन् । त्यसैले, जनप्रतिनिधिले आफू को हुँ र आफ्नो हैसियत र कर्तव्य के हो भन्ने ख्याल गर्न आवश्यक छ । पदमा पुुगेपछि आफूप्रति अरुको आकर्षण बढ्नु स्वभाविक हो । पदमा नपुुग्दा २० जनालेपनि जन्मदिनको शुुभकामना नदिने व्यक्तिलाई पदमा पुुगेपछि दुई हजारले शुुभकामना दिनुु भनेको यहाँको चलननै हो । तर, कसैले निमन्त्रणा गर्दैमा सबै काम छोडेर सोहि ठाउँमा उपस्थिति जनाउन कुद्नु भनेको आफ्नो काम र कर्तव्यप्रति बफादार नहुनु हो । तसर्थ, जिल्लाका जनप्रतिनिधि र मन्त्रीले प्रमुख अतिथिको मोह त्याग्न जरुरी छ ।

सिन्धुलीका सांसदले केन्द्र र प्रदेशमा मन्त्री पाउने ल्याकत राख्नुु जिल्लाकैलागि गौरवको विषय हो । गत मंसिर ४ गतेको प्रदेशसभाको चुनावपछि सिन्धुलीबाट निर्वाचित प्रदेश सांसद बागमती प्रदेशको मन्त्री बनेका छन् । मन्त्री भएपछि उनीबाट सिन्धुली र समग्र बागमती प्रदेशले धेरै अपेक्षा गरेको छ । तर, सिन्धुलीमा हुने सानातिना उद्घाटन र रिबन काट्ने कार्यक्रममा उपस्थिति जनाउन हेटौँडादेखि सिन्धुलीको बारम्बारको यात्राले अपेक्षा अनुसारको काम हुनेमा नागरिक विश्वस्त छैनन् । उत्पादनमुलक कार्यक्रमकालागि मन्त्रीको उपस्थितिले केहि अर्थ राखेपनि सानातिना कार्यक्रमकै लागि पेट्रोलियम पदार्थ खर्च गरिराख्नु अस्वभाविक देखिन्छ । शिलालेखमा नाम लेखाउनैका लागि उद्घाटन कार्यक्रमा सरिक हुनु देखावटिको पराकाष्ठ हो । तसर्थ, नामलाई भन्दा पनि कामलाई प्राथमिकता दिन सिन्धुलीका जनप्रतिनधिले होस पुर्‍याउनुपर्दछ । अतः रिबन काट्न भन्दा आफ्नो जिम्मेवारी पुरा गर्नतर्फ जनप्रतिनिधि केन्द्रित हुन जरुरी छ ।

प्रतिक्रिया