काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना हटाउन धमाधम डोजर लगाइरहनुभएको छ । मेयर बालेनले सार्वजनिक जग्गामा निर्माण गरिएको अस्पताल, प्रहरी बिट देखि सुकुम्बासी बस्ति खाली गर्न निर्मम भएर डोजर चलाइरहनुभएको छ । बालेन प्रवृत्तिले आलोचनासँगै तारिफ बटुलिरहेको छ । काठमाडौँ महानगरपालिकामा जस्तै सिन्धुलीमा पनि बालेन प्रवृत्तिको आवश्यकता खड्किएको छ । विशेषगरि, जिल्लाको कमलामाई नगरपालिका ६ मा रहेको सिन्धुली अस्पतालमा बालेन प्रवृत्तिको खाँचो रहेको स्थानियले महशुश गरिरहेका छन् । झण्डै २२ करोडको लगानीमा निर्माण भइरहेको सिन्धुली अस्पतालमा अवैद्य संरचनाका कारण गुरुयोजना अनुसार अस्पताल निर्माणमा समस्या देखिएको छ ।
सिन्धुली अस्पतालको जग्गामा निर्माण गरिएको सटरले गर्दा गुरुयोजना अनुसार अस्पतालको संरचना निर्माण गर्न कठिनाई भएको ठेकेदार कम्पनिले बताइरहदा पनि यहाँका सरोकारवाला निकाय मौन बसेको अवस्था छ । सार्वजनिक जग्गामा निर्माण गरिएका ती सटरसहितका भवनहरु व्यवसायीक लाभकालागि केहि व्यक्तिले प्रयोग गरिरहेका छन् । उक्त सटरसहितको भवन निर्माणकालागि केहि व्यक्तिले लगानी गरे अनुसार लागतभन्दा अत्याधिक नाफा आर्जन गरिसकेको अवस्था छ । तर, ती संरचनाहरु भत्काउन जिम्मेवार निकाय मुग्दर्शक बनेको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा देखिएको घिनलाग्दो राजनितिले यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनैतिक दल, अस्पताल व्यवस्थापन समिति र सरोकारवाला निकायलाई नै गिज्याएको अवस्था छ । तसर्थ, सुविधासम्पन्न अस्पताल निर्माणमा कुनैपनि बाधा, अड्चन हुन नदिनकालागि जिम्मेवार निकायले आफ्नो भुमिकाको ख्याल गर्न आवश्यक छ ।
तत्कालिन अस्पताल व्यवस्थापन समितिले जिल्ला उद्योग वाणिज्य संघलाई सार्वजनिक जग्गामा भवन निर्माण गर्न स्विकृति दिनुनै गैरकानुनी रहेको कानुनविदहरुको भनाई छ । यतिमात्र नभएर गैरकानुनिनै भएपनि निर्माण भइसकेको संरचनाबाट लागत भन्दा बढि मुनाफा आर्जन भइसकेको हुँदा लगानीकर्ताको लगानी डुब्ने अवस्था समेत छैन । तर पनि जिम्मेवार निकायले ती सटर भत्काउन कुनै चासो नदिदा शंका उब्जिएको छ । तसर्थ, सिन्धुलीमा बालेन प्रवृत्तिको आवश्यकता रहेको हुँदा जिम्मेवार निकायले अस्पतालको संरचना बनाउन मार्ग प्रशस्त गरिदिन जरुरी छ । अन्यथा, आगामी दिनमा स्थानियनै विरोधमा नउत्रिएलान् भन्न सकिन्न । ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भनेझैँ जिम्मेवार निकायले कानमा तेल हालेर बसिरहने हो भने आगामी दिनमा दुर्घटना नहोला भन्न सकिन्न । अतः सिन्धुली अस्पतालमा निर्माण भएका अवैद्य संरचनाले निर्माणाधिन अस्पतालको संरचना निर्माणमा पुर्याएको बाधा हटाउन जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।