सिन्धुली सौगात दैनिक पत्रिकाले आजबाट १३ औँ वर्षको यात्रा गरिरहदा सर्वप्रथम पाठवर्ग, पत्रकार, विज्ञापनदाता, शुभेच्छुक र सम्पूर्ण सिन्धुलीवासीलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु । २०६८ साल श्रावण १ गतेदेखि सिन्धुलीवासिसँग पत्रिकाको माध्यमबाट निरन्तर जोडिन पाउनु हाम्रो सौभाग्य हो । विभिन्न आरोह र अवरोहका बिच सिन्धुली सौगात पत्रिकाले जिल्लाको मुद्धालाई उठाएर संचार क्षेत्रमा योगदान पुर्याएको पाठकवर्गमा सर्वविदितै छ । स्थापनाकाल देखिनै सत्य, तथ्य, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई आत्मसात गर्दै सूचना प्रवाह गरेकै कारण पाठकवर्गले सिन्धुली सौगातलाई सिन्धुलीकै लोकप्रिय पत्रिका बनाउनुभएको छ ।
सिन्धुली जस्तो विकासशिल जिल्लामा दैनिक पत्रिका संचालन गर्न चुनौतिपुर्ण छ । जिल्लामा उद्योग, कलकारखाना तथा ठूला व्यापार, व्यवसाय नभएकाले पत्रिकामा विज्ञापनको खडेरी भइरहदापनि सूचना सम्प्रेषणलाई हामीले दायित्व नै ठान्यौ । सिन्धुलीवासीलाई सही सूचना र सचेतनामा सिन्धुली सौगातको भूमिकामा कहिल्यै विराम लागेन र लाग्नेछैन । कसैको दबाब र प्रभावमा नपरि पत्रिका प्रकाशन गर्दा १३ वर्षको यात्रामा सिन्धुली सौगात पत्रिकाले कयौँ कठिनाईको सामना गर्नुपर्यो । तर, पाठवर्गले हामीलाई देखाउनु भएको माया, सदभाव र विश्वासले हामीलाई निरन्तर अघि बढ्ने हौसला दिइरहेको छ ।
देशमा संघीयता आएपछि गाउँगाउँमा सिंहदरबार पुगेपनि नागरिकले संघीयताको अनुभव गर्न पाएका छैनन् । संचारमाध्यम सरकारको स्थायी प्रतिपक्षी भएपनि नकारात्मक रुपमा मात्र नभएर सकारात्मक कामलाई समेत सिन्धुली सौगात पत्रिकाले प्राथमिकता दिएको छ । तर, कुशासन, आर्थिक अनियमितता, भ्रष्टाचार र जनताको मुद्धा उठाउँदा जिल्लाका स्थानिय सरकारले संचारमाध्यमलाई विज्ञापनमा अंकुश लगाएको अवस्था छ । जिल्लाका स्थानिय तहले वार्षिक सूचना प्रकाशनकालागि करोड बढि रुपैँया खर्च गरिरहदा यहिबाट संचालन हुने संचार गृहलाई आर्थिक जोह गर्न हम्मेहम्मे पर्नु दुःखद हो । सवाल विज्ञापनको भन्दापनि यहाँका नागरिकसम्म सूचना पुगेको छ कि छैन भन्ने मुख्य मुद्धा हो । जिल्लाका स्थानिय तहले अन्य जिल्लाबाट संचालन हुने संचार गृहलाई विज्ञापन दिएपनि यहाँका नागरिकसम्म समाचार पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।
सिन्धुली सौगात पत्रिकाले बदलिँदो समय र पाठकको रुची अनुसार आफूलाई समय सापेक्ष परिस्कृत गर्दै प्रविधिको विकास र प्रयोगलाई पनि आत्मसात गरिरहेको छ । सिन्धुली सौगात पत्रिकाले सिन्धुली सौगात डट कम वेभसाइटको माध्यमबाट पाठकवर्गसम्म पलपलको समाचार पुर्याइरहेको छ । त्यस्तै, ईपेपर डट सिन्धुलीसौगात डट कममा विश्वको जुनसुकै कुनाबाट सिन्धुली सौगात पत्रिका पाठकमाझ पुर्याउन हामी प्रतिवद्द छौँ ।
सही सूचना, शिक्षा, मनोरन्जनमार्फत नागरिकलाई सुसूचित गर्दै आफ्नो यात्रा जारी राखेको सिन्धुली सौगात पत्रिकाले कठिन कालखण्डमा पनि प्रेस स्वतन्त्रता, लोकतन्त्र, न्याय, शान्ति र मानवअधिकार बहालीका लागि जिम्मेवार र उत्तरदायी पत्रकारितामा जोड दिँदै आएको छ । तपाईँ पाठवर्गले हामीप्रति देखाउनु भएको सदभाव र विश्वास नै हाम्रो हौसला हो ।
विनोद कुमार रायमाझी (प्रकाशक)