शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

आइतवार , आषाढ ३१, २०८०

सिन्धुली – सिन्धुली जिल्लालाई आइतवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एक समारोहका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु भएको हो ।

जिल्लाका नौवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले सिन्धुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय का खोप अधिकृत पुष्पराज पन्तले बताउनुभयो ।

जिल्लामा रहेका १४ हजार ३ सय ९२ जना बालबालिकालाई आवश्यक खोप दिइएकाले पूर्ण खोप घोषणा गरिएको जनाइएको छ । १६ महिना देखि ५९ महिना सम्मका बालबालिकालाई पूर्ण रुपमा खोप लगाइसकेपछि पूर्ण खोप भएको जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा बालबालिकालाई प्राणघातक रोगबाट बचाउन राष्ट्रिय खोप तालिका अनुसार सबै खोपहरु समयमा नै पूर्ण गराउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रतिबद्धता समेत गर्न लगाइएको छ ।

पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई स्थानीय तहको वार्षिक कार्यक्रममा समावेश गरी हरेक वर्ष सबै बालबालिकाहरुले पूर्ण खोप पाएका सुनिश्चितता गर्ने समेत प्रतिबद्धता जनाइएको छ ।

सो अवसरमा स्थानीय कलाघरका कलाकारहरुले सडक नाटक मार्फत बालबालिका बिरामी भएमा धामी झाँक्रीकोमा जाने चलन अझै भएकाले धामी झाँक्रीलाई छाडेर अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए ।

“खोप लगाउने समय भएका सबै बालबालिकालाई खोप दिएका छौ, र आगामी दिनमा जन्मने बालबालिकालाई समेत खोप सुनिश्चितता गरेका छौ ”, स्वास्थ्य कार्यालय सिन्धुलीको खोप अधिकृत पुष्पराज पन्तले भन्नभयो ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताले बालबालिकाले समयमै खोप पाउनुपर्ने र दीर्घकालीन रोगबाट बचाउनुपर्ने औँल्याएका थिए ।

प्रतिक्रिया