सिन्धुली – सरकारी अस्पताल(स्वास्थ्य संस्था)मा पर्याप्त जनशक्ति, सुविधा र पूर्वाधार नहुँदा सिन्धुलीवासीले सास्ती खेपिरहेका छन् । ग्रामीण भेगका स्वास्थ्य संस्थाबाट धेरैजसो बिरामी उपचारका लागि सदरमुकामको अस्पतालमा रेफर गरिन्छन् तर सदरमुकामको अस्पतालमा पूर्वाधार भए पनि जनशक्ति नहुँदा जिल्लाबाहिर जानुपर्ने बाध्यता छ ।
पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा सुविधा अभाव छ । पूर्वाधार पर्याप्त भएका अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त हुँदा बिरामीले सेवा पाउन सकिरहेका छैनन् । सरकारी सबै अस्पतालको साझा समस्या भने एउटै छ । त्यो हो– बिशेषज्ञ दरबन्दी हुने तर जनशक्ति सधै अभाब हुने ।
सिन्धुलीमा रहेको अस्पताललाई १५ शैयाबाट स्तरबृद्धि गरेर ५० शैयाको बनाएको वर्षौ बित्यो । अस्पताल ५० वेडमा स्तरउन्नती भएपनि दरबन्दी अनुसार विशेषज्ञ जनशक्ति र प्रविधिको अभावका कारण प्रभावकारी सेवा प्रवाह हुन सकिरहेको छैन ।
सिन्धुली अस्पतालमा २ महिना देखी बरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्टको दरबन्दी खालि हुँदा अस्पतालको भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा दैनिक सेवा लिन आउँने दर्जनौं सेवाग्राही अस्पताल बाहिरका क्लीनिकहरुमा मंहगो शुल्क तिरेर सेवा लिन बाध्य हुनुपरेको छ । अस्पतालमा हुने प्रसुति सेवा लगायत सेवाको लागी भिडियो एक्सरे अनिवार्य हुनुपर्ने भएपनि अस्पतालका डाक्टरहरुले बाहिरी क्लीनिकमा गरेको भिडियो एक्रेको आधारमा उक्त सेवा प्रदान गरिररहेको अवस्था छ ।
स्वीकृत दरबन्दी अनुसार सिन्धुली जिल्ला अस्पतालमा हुनुपर्ने ११ औं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट देखी बरिष्ट कन्सल्टेन्ट पेडियाट्रिसियन, बरिष्ठ कन्सल्टेन्ट अब्सट्रेसियन, बरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन, बरिष्ठ कन्सलटेन्ट साइक्याट्रिस, बरिष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन, बरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट सहितको विशेषज्ञ डाक्टरहरुको दरबन्दी खाली रहेको छ भने छात्रवृत्ति करारमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट अब्सट्रेसियन, बरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन र बरिष्ठ कल्सन्टेन्ट एनेस्थोसियोलोजिष्ट डाक्टरहरु मार्फत लामो समय देखी अस्पताल चलिरहेको छ ।
त्यस्तै अस्पतालमा दरबन्दी अनुसार फिजियोथेरापिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, डेन्टल हाइजिस्टि, बायोमेडिकल टेक्नीसियनको सेवा पनि उपलब्ध हुन सकेको अवस्था नरहेको सिन्धुली जिल्ला अस्पतालका सूचना अधिकारी राजकुमार गोलेले जानकारी दिनुभयो ।
अस्पताल दरबन्दी तर्फ ३३ जना, अस्पताल बिकास समितिको तर्फबाट २४ जना, छात्रवृत्ति करार तर्फ ११ जना, प्रदेश सरकार अनुदान २५ जना र विभिन्न् कार्यक्रम तर्फ २१ जना गरी कुल १ सय २६ स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेको सूचना अधिकारी गोलेले जानकारी दिनुभयो ।
हाल जिल्ला अस्पतालमा आठ जना बिशेषज्ञ डाक्टर मध्ये ८ जना डाक्टरको दरबन्दी खाली रहेको छ भने छात्रवृत्ति करारमा कार्यरत ३ जना विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गरिरहेको अवस्था छ ।
अस्पतालले जनरल सर्जरी अन्तर्गत हाइड्रोसिल, हर्निया, एपेन्डिक्स, सामान्य चिकित्सा तथा बालरोग सेवाअन्तर्गत दम, मुटु, निमोनिया, बाथ, थाइराइड, मधुमेह, उच्च रक्तचाप, एच.आई.भि., क्षयरोगको नियमित रुपमा अस्पतालमै उपचार सेवा दिइरहेको सिन्धुली अस्पतालका प्रमुख डा.उमेश प्रधानले बताउनुभयो । साथै अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, फर्मेसी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, प्रसुति सेवा, ओसिएमसी सेवा तथा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको मेडिकल सुपरिटेण्डेन्ट उमेश प्रधानले जानकारी दिनुभयो ।
अस्पतालमा सामान्य रगतको जाँचदेखी कलेजोको कामको जाँच, बोसोको जाँच (लिपिड प्रोफाइल), नुन(सोडियम,पोटासियम) को जाँच, दिसा, पिसाब, रगतको जाँच तथा कल्चर सेवा, प्रदान गर्दै आईरहेको छ ।
गुणस्तरिय स्वास्थ्य सेवामा थप अब्बलता हासिल गर्न दरबन्दी अनुरुपका विशेषज्ञ डाक्टरहरुको पदपूर्तिको लागि आवश्यक पहल गर्न अस्पताल ब्यवस्थापन समिति, जिल्लाका जनप्रतिनिधी तथा राजनैतिक दलहरुले आवश्यक पहल गर्न नसक्दा जिल्लाबासीहरु गुणस्तरिय स्वास्थ्य सेवाबाट बञ्चीत हुनुपरेको अवस्था रहेको छ ।