शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा स्वास्थ्य बीमा प्रति आकर्षण बढ्दै

बिहिवार , चैत्र २, २०७९

सिन्धुली– गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्ने उदेश्यका साथ नेपाल सरकारले २०७२ बाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत सिन्धुलीका झण्डै १ लाख नागरिकले स्वास्थ्य बिना गरेर निशुल्क स्वास्थ्य सेवा लिईरहेका छन ।

सिन्धुली २०७४ असोज देखी सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत हाल सम्म जिल्लाका ५० हजार २ सय २८ महिला र ४७ हजार ९ सय ८५ पुरुष सहित कुल ९८ हजार २ सय २७ नागरिकले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय सिन्धुलीका प्रमुख रमेश कुमार घिमिरेले जानकारी दिनुभयो । जिल्ला भरि स्वास्थ्य बीमाका लागी ८८ जना दर्ता सहयोगी परिचालित रहेको पनि घिमिरेले बताउनुभयो ।

बीमा कार्यक्रम मार्फत पाँच जनासम्मको परिवारको रु तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले रु एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ ।

पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रु ७०० बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य रु २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ । बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ४५७ स्वास्थ्य संस्थाहरुलाई सुचीकृत गरेको छ ।

सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स संक्रमित, अतिअशक्त अपांगलाई भने निःशुल्क बीमा गर्ने गरेको साथै महिला स्वास्थ्य स्वयेमसेविकाहरुलाई ५० प्रतिशत छुटमा बिमा गर्ने गरिएको बोर्डका प्रमुख घिमिरेले जानकारी दिनुभयो । उहाँले वडास्तरमा एक जना दर्ता सहयोगी खटाएर बीमाबारे जानकारी दिन घर–घर जाने गरेकाले बीमित अझै बढ्ने बताउनुभयो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भीक नजिजा अनुसार जिल्लाको कुल जनसंख्या ३ लाख १ सय १७ रहेको छ भने परिवार संख्या ६९ हजार ४ सय ९ रहेको छ । सहरी क्षेत्रका नागरिकहरुले बिमाको बारेमा जानकारी र सेवा लिएपनि जिल्लाको ग्रामीण क्षेत्रका नागरिकहरुले बिमाको बारेमा प्रसस्त जानकारी र सेवा सुविधा लिन सकिरहेको अवस्था छैन ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, इलेक्ट्रो कार्डियोग्राफी, ड्रेसिङ, घाउ चिरफार, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सीमासम्म निःशुल्क उपचार हुन्छ ।

यसका साथै मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसुति, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधि, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मिर्गौला, स्पाइनल तथा हाड इन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाइमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुने ब्यवस्था रहेको छ ।

निःशुल्क स्वास्थ्य बीमा गर्दै स्थानीय सरकार

स्थानीय तह निर्वाचनमा आफ्ना मतदाताहरुलाई निशुल्क स्वास्थ्य बीमाको एजेण्डा बेचेका स्थानीय सरकारहरु नागरिकको निशुल्क स्वास्थ्य बीमा गरिदिने अभियानमा रहेका छन ।

जिल्लाको कमलामाई नगरपालिका कार्यालयलले २०७६ सालदेखी नै निशुल्क स्वास्थ्य बिमा सम्बन्धी कार्यविधिको निर्माण गरि नगर क्षेत्रका अति बिपन्न् मजदुर, महिला स्वास्थ्य स्वयेमसेवीका, शहिद बेपत्ता तथा घाईते परिवार, अपांगगता भएका ब्यक्तिहरुको निशुल्क स्वास्थ्य बिमा गरिरहेको सामाजिक विकास शाखाका बबिन्द्रलाल माझीले बताउनुभयो ।

नगरपालिका कार्यालयले हाल सम्म नगरक्षेत्रका २ हजार १ सय ५६ घरधुरी र ९ हजार ८ सय ८५ ब्यक्तिको स्वास्थ्य बिमाको लागी हाल सम्म ७९ लाख ३७ हजार ६ सय रुपैयाँ भुक्तानी गरिसकेको माझीले बताउनुभयो ।

त्यस्तै मरिण गाउँपालिका कार्यालयलले जेष्ठ नागरिक, गर्भवती महिला, विधुवा महिला, अपाङ्गता भएका व्यक्तिहरुको गत आर्थिक वर्ष देखी निशुल्क स्वास्थ्य बिमा गरिरहेको मरिण गाउँपालिकाका स्वास्थ्य संयोजक मधु लाखेले बताउनुभयो । गत आर्थिक वर्ष १५ लाख र चालु आर्थिक वर्षमा १५ रकम निशुल्क स्वास्थ्य बिमाको लागी गाउँपालिकाले बजेट बिनियोजन गरेको लाखेले जानकारी दिनुभयो ।

सुनकोशी गाउँपालिका कार्यालयले चालु आर्थिक वर्षमा निशुल्क स्वास्थ्य बीमाको लागी ५ लाख रुपैयाँ बिनियोजन गरेको र निशुल्क स्वास्थ्य बीमा सम्बन्धी आवश्यक कार्यविधी निर्माण गरेर कार्यक्रमलाई अगाडि बढाईने सुनकोशी गाउँपालिका कार्यालयका स्वास्थ्य संयोजक ओम प्रकाश झाले जानकारी दिनुभयो ।

त्यस्तै गोलन्जोर गाउँपालिका कार्यालयले पनि चालु आर्थिक वर्षमा निशुल्क स्वास्थ्य बिमाको लागी २० लाख रकम बिनियोजन गरिएको र उक्त रकमबाट ५ सय भन्दा बढी अति विपन्न् नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिएको प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद दाहालले बताउनुभयो ।

त्यस्तै हरिहरपुरगढी गाउँपालिका कार्यालयले पनि चालु आर्थिक वर्षमा निशुल्क स्वास्थ्य बिमाको लागी ३५ लाख रकम बिनियोजन गरेको र आवश्यक कार्यविधी र मापदण्ड निर्धारण गरि अति विपन्न् नागरिकहरुलाई निशुल्क स्वास्थ्य बीमा गरि स्वास्थ्य सेवामा पहुँच बृद्धि गराइने हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो ।

प्रतिक्रिया