सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेलले नगरमा रहेको सामुदायिक विद्यालयको सुधारलाई उच्च प्राथमिकतामा राख्दै कार्यसम्पादन गरिरहनुभएको छ । कार्यभार सम्हालेको शुरुवाति दिनदेखिनै शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्यकालागि कार्ययोजना बनाई अघि बढ्नु भएको मेयर पोखरेललाई नगरकै शिक्षा अधिकारी शंकरराज लुइटेलले साथ नदिएको आरोप लागेको छ ।
नगर शिक्षा अधिकारी लुइटेलले सामुदायिक विद्यालयको प्रधानाध्यापकसँग साँठगाँठ गर्दै इमान्दारिपुर्वक कार्यसम्पादन नगरेको आरोप लागेको हो । कमलामाई नगरपालिकाको १० नम्बर वडाका अध्यक्ष दिपबहादुर कार्कीले सोहि वडाको धामीढुम्रेमा रहेको प्रगतिशिल माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको निवेदन गत मंगलबार नगरको शिक्षा शाखामा पठाउदा नगर शिक्षा अधिकारी लुइटेललले लिन नमानेपछि अधिकारीको पोल खुलेको हो । वडाध्यक्ष कार्कीले भन्नुभयो, ‘विद्यालयको सामाजिक प्रतिवेदनमा व्यापक आर्थिक अनियमियता देखिएको छ । हालसम्म उक्त प्रतिवेदन पासपनि भएको छैन । सामाजिक प्रतिवेदन चेकजाँच र पास गर्न व्यवस्थापन समिति मौन बसेपछि वडा समितिले नगर शाखालाई छानविन गर्न निवेदन दिएको थियो । तर, शिक्षा अधिकारीले वडाको निर्णय मान्य नहुने भनेपछि मेयरलाई गुहारेका हौँ ।”
विद्यालयमा भएको आर्थिक अनियमितताको उजुरी दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेको वडाध्यक्ष कार्कीले बताउनुभयो । अख्तियारबाट नगरको शिक्षा शाखामा उक्त पत्र आएपछि लुइटेलले विद्यालयको निरिक्षण गरेको वडाध्यक्ष कार्कीले बताउनुभयो । चेकजाँच गर्नेक्रममा आर्थिक हिसाबकिताब नभेट्दा समेत लुइटेलले अख्तियारलाई चेकजाँचको प्रतिवेदन नबुझाएको वडाध्यक्ष कार्कीले गुनासो गर्नुभयो ।
नगर शिक्षा अधिकारी लुइटेलले अनुगमनका क्रममा नगरले विद्यालयलाई दिने खाजा खर्च, शिक्षण सिकाईको सामाग्री खरिदकालागि आएको पैसा, विद्यालय दिवस मनाउन र विद्यालय भवन निर्माणकालागि आएको खर्च लगायत नगर र अन्य निकायबाट आएको पैसाको कुनै हिसाबकिताब नभेटेपनि कुनै पनि प्रक्रिया अघि नबढाएपछि मेयर पोखरेललाई समस्याको समाधान गरिदिन निवेदन लेखेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
कर्मचारीलाई सम्झाउँदा अभद्र व्यवहारको आरोप: मेयर पोखरेलले नगर शिक्षा अधिकारीको काम कारवाहीलाई केहि महिनायता निहालिरहनुभएको थियो । शिक्षा शाखाको कार्यसम्पादन सन्तोषजनक नभएपछि मेयर पोखरेलले शिक्षा अधिकारीलाई बारम्बार ताकेता गरिरहनु भएको थियो । प्रगतिशिल मा.वि. को विषय आफ्नो डेस्कमा आएपछि पोखरेलले शिक्षा अधिकारीकै कार्यकक्षमै पुगि इमान्दारिपुर्वक कार्यसम्पादन गर्न निर्देशन दिनुभएको वडाध्यक्ष कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “म, २ नम्बर वडाको अध्यक्ष इन्द्र वाईबा र मेयर पोखरेल शिक्षा अधिकारीकै कार्यकक्षमा पुगेर कुरा गरेका हौँ । मेयरले अभद्र व्यवहार गर्नुभएको छैन । उहाँको स्वर ठूलो भएको हो तर मनसाय गलत थिएन ।”
यता, नेकपा एमाले निकट पेसागत महासंघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल निजामती कर्मचारी संगठन र स्थानीय तह कर्मचारी संघले मेयर पोखरेलले नगर शिक्षा अधिकारीमाथि गरेको अभद्र व्यवहारप्रति ध्यानाकर्षित भएको भन्दंै बिहिबार प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । शिक्षा अधिकारीलाई अपमानजनक व्यवहार गरेको भन्दै मर्यादाको समुचित ख्याल गरि अघि बढ्न मेयर पोखरेललाई प्रेस विज्ञप्तीमार्फत ध्यानाकर्षण गराइएको हो ।
हल्लाखल्ला भएपछि अनुसन्धानको प्रक्रिया शुरु: प्रेस विज्ञप्ति आउनुअघि विद्यालयमा व्यवस्थापन समितिको बैठक बसि २०७४ देखि २०७९ सालसम्मको हिसाबकिताब गरि बेरुजु आएमा प्रधानाध्यापक नेग बहादुर भुजेलसँग सो रकम असुल गर्ने निर्णय भएको वडाध्यक्ष कार्कीले बताउनुभयो । आर्थिक अनियमितता भएको पुष्टि भए भुजेललाई प्रधानाध्यपकबाट हटाइने निर्णय गरेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।