शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

बिहिवार , भाद्र ३०, २०७९

सिन्धुली – लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेंगु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिनुभयो ।

्

दिनकै दुई–तीन बिरामीमा डेंगु रोगको संक्रमण देखिएको उहाँको भनाइ छ । साउनयता मात्रै बिरामी भएर अस्पताल आएका ९७ जनामा उक्त रोग देखिएको जनाइएको छ । उहाँले भन्नुभयो, “सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७४ जनामा डेंगुको संक्रमण भएको पाइयो ।”

यसैगरी दुधौली नगरपालिकामा सात, गोलञ्जोर गाउँपालिकामा पाँच, तीनपाटन गाउँपालिकामा चार, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका तीन/तीन जनामा डेंगु भाइरसको संक्रमण भएको पाइएको छ । तीमध्ये १२ बिरामी अस्पतालको शय्यामा उपचारत छन् । केही बिरामी चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका उहाँले बताउनुभयो । दश डेंगुका बिरामीलाई भने उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनुपरेको डा देवकोटाले जानकारी दिनुभयो । यो तथ्यांक साउन १ देखि भदौ २८ सम्मको हो ।

डेंगुको संक्रमण जिल्लामा तीव्रगतिमा फैलिरहेको उहाँको अनुमान छ । डेंगुको लक्षण देखिएका कतिपय बिरामी घरमै तातोपानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले जिल्लामा बिरामीको यकिन तथ्याङ्क सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिकाले नगर स्वास्थ्य शाखामार्फत डेंगु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने टोली परिचालन गरेको नगरप्रमुख उप्रेन्द्रकुमार पोखरेल जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबारदेखि नगरका स्वास्थ्य शाखाका कर्मचारी र नगर स्वास्थ्य स्वयंसेविकाको टोली लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काममा परिचालित भएका हुन् । स्वास्थ्य कार्यालयको समन्वयमा डेंगु रोग नियन्त्रणका लागि स्प्रे छर्किने तयारी भएको उहाँले बताउनुभयो ।

डेंगु भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताललगायत पालिकाका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाले संयुक्तरूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको पनि जनाएका छन् । चिकित्सकका अनुसार डेंगु रोग डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।

प्रतिक्रिया