शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा डेंगु संक्रमण बढ्दै

सोमवार , भाद्र २७, २०७९

सिन्धुली – सिन्धुलीमा डंगु रोगको संक्रमण बढेको छ । जिल्ला अस्पताल सिन्धुलीका कोरोना फोकलपसन डा. सागर देवकोटाका अनुसार अस्पतालमा आउने विरामीमा दैनिक २ देखि ३ जनामा डेंगु संक्रमण देखिएको छ ।

हाल सम्म जिल्लामा ९५ जनामा डेंगु संक्रमण भइसकेको उहाँले जानकारी दिनुभयो । जिल्लाको नौ स्थानिय तह मध्ये छ स्थानिय तहमा डेंगु रोग देखिएको छ । कमलामाई नगरपालिकामा सबै भन्दा बढी ७२ जनामा डेंगु रोगको संक्रमण भएको छ । दुधौली नगरपालिकामा ७ जना, तिनपाटन गाउँपालिकामा ४ जना, गोलन्जोर गाउँपालिकामा ५ जना, मरिण र घ्याङलेख गाउँपालिकाका ३­३ जनामा डेंगु संक्रमण भएको छ । डेंग हुँदा एक्कासी चर्को ज्वरो आउने डा देवकोटाले बताउनुभयो । ज्वरो भाइरसको कारण आउने छ । उहाँका अनुसार डेंगु भएमा जोर्नी र मांसपेशी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्ने हुन्छ । कसैकसैलाई घाँटी दुख्ने, आँखा रातो हुने, खान मन नलाग्ने, वा पेट दुख्ने पनि हुन्छ ।

यसको जटिलता बढेसँगै नाक र गिजाबाट रगत समेत बग्ने डा. देवकोटाले बताउनुहुन्छ , उहाँले भन्नुभयो, “यो अरू ज्वरो जस्तै भएकाले छुट्टयाउन गाह्रो हुन्छ । त्यसैले चाँडै नजिकैको अस्पतालमा जचाउन जानुपर्छ ।” उहाँका अनुसार बिरामीको शरीरमा रक्तकोषिकाको कमीसँगै प्लेटलेट कमी भएपछि आन्तरिक र बाह्य रक्तश्राव हुन्छ। जटिलता बढेसँगै शरीरका विभिन्न भित्री अंगमा रगत कम हुन्छ र अंगहरूले राम्रो काम गर्न नसक्दा गम्भीर अवस्थामा पुगेर एक प्रतिशत बिरामीको ज्यान जाने उहाँले बताउनुभयो ।

सामान्य अवस्थाका बिरामीहरू अधिकांश बिस्तारै डेंगु ज्वरोबाट आफै निको पनि हुन सक्ने डा देवकोटाले जानकारी दिनुभयो । डेंगु भाइरसका कारण ज्वरो आएमा प्रशस्त आराम गर्ने, झोलिलो तथा तागतिलो खानेकुरा खान उहाँले आग्रह गर्नुभयो ।

बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेंगु संक्रमण बढ्नुको एक कारक मानिन्छ । प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ । अण्डाबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ । डेंगु संक्रमित लामखुट्टेको जीवन चक्र चार साताको हुन्छ । यसले एक पटकमा १०० देखि ४०० वटासम्म अण्डा पार्छ । यो लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिनु नहुने डा देवकोटा बताउनुहुन्छ । लामखुट्टेको स्वभाव घर वरिपरि र मान्छेको भिडभाडमा रहने खालको हुन्छ र पोथी लामखुट्टेबाट मात्र डेंगु रोग मानिसमा सर्न उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया