शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

पालो पुर्‍याउन दुई मन्त्रीले राजीनामा दिँदै

आइतवार , भाद्र १२, २०७९

कर्णाली सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीले आज नै राजीनामा दिने भएका छन्। माओवादी स्रोतकाअनुसार सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा आइतबार दिउँसो तीन बजेपछि दिने बताएको छ ।

माओवादी केन्द्रले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष शुक्रबार मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको छ । उक्त निर्णयअनुसार नै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका हुन् ।

मन्त्री विष्ट र सिंहको राजीनामापछि माओवादीले मन्त्रीमा सिफारिस गरेका दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई मुख्यमन्त्री शाहीले आज नै नियुक्त गर्ने माओवादी स्रोतको दाबी छ । शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

नयाँ नियुक्त भएका दुई मन्त्रीको शपथ भने आज नभएर सोमबार बिहानसम्म हुने भएको छ। माओवादी स्रोतकाअनुसार सांसद रातो कामी गृह जिल्ला भएकाले वीरेन्द्रनगर फर्किन समय लाग्ने यदि वीरेन्द्रनगर समयमै पुगेपछि आज साँझ नै पद तथा गोपनीयताको शपथ ग्रहण हुने र ढिलो भएमा सोमबार बिहान ११ बजे हुनेछ ।

कर्णालीमा माओवादी केन्द्रले आफ्ना मन्त्री हुन बाँकी रहेका निर्वाचित र समानुपातिक सांसदलाई पालो पुर्‍याउन मन्त्री बनाउन हो। दुई प्रदेशसभा सदस्यले माओवादी पार्टीबाट राजीनामा दिएपछि हाल कर्णाली प्रदेशसभामा माओवादीका ११ सदस्य छन्।

प्रतिक्रिया