शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा एउटै वस्तुको मूल्य फरक फरक : सरकारी निकाय मौन

शुक्रवार , माघ २८, २०७८

सिन्धुली– सिन्धुलीमा एउटै बस्तुको मूल्य फरक फरक पाइने गरेको छ । एउटै ब्राण्डका दैनिक उपभोग्य वस्तुको मूल्य पसलअनुसार फरक हुने गरेको उपभोक्ताले गुनासो गरेका छन् । दैनिक उपभोग्य वस्तु थोक बिक्री गर्ने पसलमा प्रायः एउटै मूल्य भए पनि खुद्रा पसलमा मूल्य फरक हुने गरेको उभोक्ताले बताउँदै आएका छन् ।

सिन्धुली बजार क्षेत्रमा उपभोग्य सामग्री बिक्री गर्ने विभिन्न खुद्रा व्यापारीले सोना तथा जिरा मन्सुली चामल ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म बिक्री गर्ने गरेको पाइएको छ । सावित्री ब्राण्डको सोना मन्सुली चामल प्रतिकेजी ५० रुपैयाँमा बिक्री गर्ने गरेको व्यवसायी रामेश श्रेष्ठले बताउनुभयो । अर्को एक पसलमा ऊर्जा ब्राण्डको जिरा मन्सुली चामल प्रतिकेजी ७० रुपैयाँमा बिक्री गरिएको पाइएको छ भने भगवती किराना पसलमा जिरा मन्सुली चामल प्रतिकेजी ६५ रुपैयाँमा बिक्री गर्ने गरिएको व्यवसायी भगवती माया तामाङले बताउनुभयो ।

बजारमा विभिन्न तहका बिचौलीया हुँदै दैनिक उपभोग्य वस्तु तथा खाद्य सामग्री उपभोक्तासम्म आइपुग्दा उपभोक्ताले महंगो मूल्य तिर्न बाध्य हुने गरेका छन् । उपभोक्ता समीर तामाङका अनुसार भूगोल तथा क्षेत्रअनुसार खाद्यवस्तुको मूल्य फरक–फरक हुने गरेको छ । बजारबाट लगिएको एउटै ब्राण्डका खाद्य तथा उपभोग्य सामग्री गाउँमा बढि मूल्य लिने गरेको उहाँले बताउनुभयो । बिचौलिया हुँदै उपभोक्तासम्म खाद्य तथा उपभोग्य वस्तु आइपुग्दा कारखाना मूल्यमा ५० प्रतिशतसम्म मूल्यवृद्वि हुने गरेको तामाङले जानकारी दिनुभयो । उत्पादक, डिलर, थोक बिक्रेता, खुद्रा बिक्रेता हुँदै उपभोक्तासम्म वस्तु आइपुग्दा बढी मूल्य पर्ने गरेको उहाँले बताउनुभयो ।

दैनिकरुपमा ज्याला मजदुरी गरी खाने वर्गले उपभोग्य वस्तु एकैपटक धेरै किन्न नसक्ने उपभोक्ता सबिना दाहालले बताउनुभयो । एक–दुई छाकलाई पुग्ने खाद्यवस्तु खरिद गर्दा महंगो मूल्य तिर्नुपर्ने भएकाले न्यून आय भएका उपभोक्ता बढी मारमा पर्ने गरेको उहाँको भनाइ छ । मूल्यवृद्वि अत्यधिक रहेकाले कतिपय सामग्री आवश्यकभन्दा घटाएरसमेत ल्याउने गरेको दाहालले जानकारी दिनुभयो ।

अधिकांश उपभोक्ताहरुले विभिन्न ब्राण्डका खाद्यवस्तु खरिद गर्दा उपभोग्य मिति तथा अधिकतम बिक्री मूल्य समेत हेर्ने गरेका हुँदैनन् । बजारमा विभिन्न ब्राण्डका वस्तुबीच प्रतिस्पर्धा रहँदा कुन ब्राण्डका खाद्यवस्तु गुणस्तरीय छ भन्नेसमेत आम उपभोक्तालाई जानकारी हुँदैन ।

एउटै बान्डका दैनिक उपभोग्य बस्तुको फरक¬फरक मुल्य लिने गरेपनि सरकारी निकाय मौन रहेको एक उपभोक्ताले बताउँछन् । उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गत वस्तु वा सेवाको नियमन गरिने उल्लेख गरिएको छ । नेपाल सरकारले उपभोक्ताको अधिकार संरक्षण गर्न नियमितरुपमा वस्तु वा सेवाको आपूर्ति, मूल्य, नापतौल, गुणस्तर, लेबल र विज्ञापनको नियमन गरिने ऐनमा जनाइएको छ । तर बजारका अधिकांश थोक तथा खुद्रा पसलमा दैनिक उपभोग्य वस्तुहरु अव्यवस्थितरुपमा भण्डार गरिराखेको पाइन्छ ।

प्रतिक्रिया