शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा थप १० जनामा कोरोना संक्रमण

बिहिवार , माघ २७, २०७८

सिन्धुली – सिन्धुलीमा विहिबार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार २३ जनाको स्वाव परिक्षण गर्दा ६ जना महिला र ४ जना पुरुष गरि जम्मा १० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ८ सय ५१ पुगेको छ ।

यस्तै जिल्लामा हाल २२ जना महिला र ५४ जना पुरुष गरि जम्मा ७६ जना होम आइसोलेसनमा उपचारत रहेका छन् । हाल सम्म जिल्लामा ३ हजार ७ सय ३० जना कोरोना संक्रमणमुक्त भइसकेका छन् भने ४५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

देशभर एक हजार ३६९ जनामा संक्रमण

यसैगरि देशभर पछिल्लो २४ घण्टामा ११ हजार ८८० को नमूना परीक्षण गर्दा एक हजार ३६९ मा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार हजार ८८० को पीसीआर र तीन हजारको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई हजार २३८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ३० हजार ६०७ पुगेको छ । निको हुने दर ९५ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट नौ लाख ७१ हजार ४७५ र एन्टीजेन विधिबाट परीक्षण गर्दा एक लाख ३६ हजार ५११ संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ५३ लाख १२ हजार ४४२ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको संख्या १० लाख सात हजार २३४ पुगेको छ । कूलमा संmमण दर १८ दशमलव तीन प्रतिशत छ ।

कोभिडविरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा दुई लाख २० हजार ६०१ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २९ हजार चार रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ । प्रति १० लाख जनसंख्यामा मृत्युदर ३९० दशमलव पाँच रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको संख्या जम्मा ३२ र आइसियुमा २२५ रहेको छ । होमआइसोलेसनमा २७ हजार ९३०, संस्थागत आइसोलेसनमा एक हजार ७४ र क्वारेन्टिनमा १३३ जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही, र कैलाली रहेका छन् । दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासीपूर्व, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ, र कञ्चनपुर छन् । हाल शून्य संक्रमित रहेको एक मात्र जिल्ला मनाङ रहेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात हजार १७०, ललितपुरमा तीन हजार ४३१ र भक्तपुरमा एक हजार ४६४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया