सिन्धुली –चिसो बढेसँगै सिन्धुलीमा रुघाखोकि तथा ज्वरोका विरामी बढेका छन् । जिल्लाको सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ ।
अस्पतालमा दैनिकजसो सयौँको संख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उमेश प्रधानले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो ५० देखि ६० जनाजम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी छन् । “चिसो बढेको छ, बालबालिका तथा वृद्धवृद्धा दैनिक सयौँका संख्यामा उपचारका लागि आउने गरेका छन्, बिरामीको भीड लागेको छ ,” उहाँले भन्नुभयो ।
रुघाखोकी तथा ज्वरो भएका बिरामीले पिसीआर जाँच गरे कोरोना पोजेटिभ देखिने गरेको जनाउँदै गाउँघरमा भएका ज्वरोका बिरामी अस्पताल नआउने र पिसीआर पनि जाँच नगर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामा केही दिनयतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन् ।
चिसो मौसम सुरु भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन जिल्ला अस्पतालले सबैमा आग्रह गरेको छ । जिल्लामा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोरोना सङ्क्रमण पनि बढ्दै गएका खबरले यहाँका नागरिकमा चिन्ता छाएको बताइएको छ ।