शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका सहकारीमा महिलाको सहभागिता बढ्दै

बुधवार , माघ ५, २०७८

सिन्धुली, – कमलामाई नगरपालिका–५ मधुटार निवासी सुजता बरालले सहरकारीमा लागेपछि आर्थिक उन्नतीमात्रै होईन सामाजिक सम्मान पनि पाउनु भएको छ ।

“तीन बर्ष अघिसम्म पाँच रुपैया जुटाउन हम्मेहम्मे हुन्थ्यो, आफ्नो आम्दानी एक सुको थिएन,” उहाँले भन्नुभयो, “श्रीमानसँग हात जोर्नु बाहेक बिकल्प थिएन । अहिले आफै व्यवसायि बनेर सक्षम बन्दै गएकी छु ।” सहकारीबाट एक लाख रुपैया ऋण लिएर लगानी गरी सुरु गरेको किराना पसलको पुँजी अहिले पाँच लाख रुपैयाभन्दा माथि नै पुगेको उहाँको भनाई छ ।

सहकारीमा आबद्ध भएर बचत गर्न थालेपछि आर्थिक अवस्था सुधारसँगै समाजमा सम्मानीत व्यहवार पाएको उहाँले आफ्नो अनुभव सुनाउनुभयो । सदरमुकाम सिन्धुलीमाढीमा रहेको सौगात लघु उद्यम सहकारीसंस्थामा सुजतासहित तीन सय ५० जना महिला आबद्ध छन् । वि.सं. २०६४ सालमा स्थापना भएको यो सहकारी संस्थामा आबद्ध सबै महिला मात्रै रहेका छन् ।

व्यवसायि सुजता भन्नुभयो, “कमाउन थालेपछि समाजम महिलालाई हेर्ने दृष्टिकोण नै फरक हुदो रहेछ । पसलकै कमाईबाट दैनिक बचत र किस्ता तिर्दै आएको छु ।” सुजताको पसलमा अहिले चटपटे, पानीपुरी, किराना पसलका सामान र चियो पेय पदाथै पाईन्छ । सिन्धुली जिल्लामा गठन भएका सहकारी संस्थाहरुमा पछिल्लो समयमा महिलाहरुको सहभागिता बढ्दै गएको छ ।

गाँउमै सहकारी संस्था गठन भई वचत तथा कर्जा लगानी गर्न थालेपछि प्रायः घर धन्दामा मात्र सिमित रहने महिलाहरुको सहकारीतर्फ आकर्षण बढेको हो । कमलामाई नगरपालिका–४ ढुंग्रेबासस्थित सिन्धुलीगढी बचत तथा ऋण सहकारी संस्थामा रहेका कुल ९८५ जना सदस्य मध्ये ७९४ जना त महिला सदस्य रहेको उक्त सहकारीले जनाएको छ ।

उक्त सहकारीका सह–सचिब शकुन्तला राई सहकारी संस्थामा भनेकै बेला सस्तो व्याजमा विना धितो कर्जा लिन सजिलो हुने भएकाले विपन्न गरिब महिलाहरुको गर्जो टर्न थालेको बताउनुहुन्छ । सानोतिनो आर्थिक समस्याका लागि पनि साहुको दैलो चाहार्नु नपर्ने अवस्था सहकारीले पुरा गरेको उहाँको भनाई छ । उहाँका अनुसार बैंकको आर्थिक कारोबार झन्झटिलो भएको र सहकारीमा सरल तरिकारले कारोबार हुने गरेकोले पनि महिलाको सहभागिता बढेको बताउनु हुन्छ ।

उहाँले भन्नुभयो, ‘घर खर्चका लागि आवशयक पर्ने सानो तिनो ऋण सरल तरिकाले भनेको बेलामा तुरुन्तै पाईने भएकाले पनि सहकारीप्रति महिलाहरु आकर्षित देखिएका छन् । आर्थिक कारोबारका लागि महिलालाई सहकारीले विश्वास गर्नाले पनि सहकारीप्रति उनीहरुको सहभागिता बढेको उहको बुझाई छ ।

कमलामाई नगरपालिका–३ चपौलीस्थित जलकन्या महिला बचत तथा ऋण सहकारी संस्था पनि विगत १० बर्षभन्दा बढी समयदेखि महिलाकै भरमा चल्दै आएको छ । उक्त सहकारीमा ६४६ जना शेयर सदस्य रहेका छन् । कमलामाई नगरपालिका सामाजिक विकास शाखाका अनुसार उक्त नगरपालिका भरिमा १३१ वटा सहकारी रहेका छन् । सबै सहकारीमा महिला सहभागिता बढ्दै गएको र केही सहकारीमा त महिला मात्रै रहेको छ ।

प्रतिक्रिया