सिन्धुली, –आइतवार १६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ४१ जनामा गरिएको स्वाव परिक्षणमा ४ जना महिला र १२ जना पुरुष मा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
आइतवार थपिएका संगै जिल्लामा हाल सम्म कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २ सय ७० पुगेको छ । हाल निको भएका संगै हाल सम्म ३ हजार २ सय १९ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन् ।
यस्तै, आइतवार होम आईसोलेसनमा ७ जना महिला र २१ जना पुरुष सक्रिय संक्रमित उपचाररत रहेका छन भने ४५ जनाको कोरोना भाईरस संक्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ । सिन्धुली जिल्लामा १२ बर्षदेखि १७ बर्ष उमेर समूहका विद्यार्थीले अझै कोरोना भाईरस बिरुद्धको खोपको सुनिश्चितता पाएका छैनन् ।
सिन्धुली जिल्लामा उक्त उमेर समूहका विद्यार्थीलाई लगाउने खोप अहिलेसम्म नआएकोले खोपको सुनिश्चितता नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संभावित खतरा रोक्न सरकारले गतमंगलबारदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गरेको छ ।
उक्त समयमा १२ बर्षदेखि १७ बर्ष उमेर समूहका विद्यार्थीलाई नजिकको स्वास्थ्य संस्थामा खोप लगाउन निर्देशन दिएपनि सिन्धुली जिल्लामा भने उक्त समूहका विद्यार्थीलाई लगाउने खोप अझै नआएको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभागमा नै उक्त खोप नभएर सिन्धुली जिल्लामा नआएको हो । उक्त खोप आएपछि मात्रै कहिलेदेखि विद्यार्थीलाई लगाउने भन्ने थाहा हुन्छ ।”
१८ बर्ष माथिकालाई भेरोसेल खोप लगाउने कार्य भई रहेको र १२ बर्षदेखि १७ बर्ष उमेर समूहका विद्यार्थीको सङख्या जिल्लामा ४० हजार सात सय रहेको अनुमान गरिएको कार्यालय प्रमुख साहले बताउनुभयो । कमलमाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीबासका प्रधानाध्यापक अरुणकुमार थिङ पनि विद्यार्थीलाई खोपको सुनिश्चितता नभएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय तहले १२ बर्षदेखि १७ बर्ष उमेर समूहका विद्यार्थी कति छन् भनेर तथ्यांक मागेको थियो, हामीले पठाई सकेका छौं । कुन दिनदेखि लगाउने भनेर विद्यालयलाई सर्कुलर आई सकेको छैन ।” दुई नगरपालिका र सात वटा गाँउपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा सामुदायिक विद्यालय ५६३ र संस्थागत विद्यालय ५८ वटा रहेका छन् ।
त्यसो त सिन्धुली जिल्लामा पछिल्लो चरणको खोप लगाइसक्दा नौ वटै स्थानीय तहमा गरी कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संंख्या एक लाख ११ हजार ६६९ नाघेको छ । जिल्लामा विभिन्न चरणमा सञ्चालन भएको खोप अभियानमा ती व्यक्तिले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कोभिशिल्ड दुई हजार ५७४ जना, एस्ट्राजेनेका सात हजार ३१५ जना, भेरोसेल ८८ हजार ६३ र जोनसोन एण्ड जोनसोन १३ हजार ७१७ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । खोपको पहिलो मात्रा भने एक लाख ४३ हजार ११४ जनाले लगाएका छन् ।