काठमाडौं - महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंहमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ। हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखिएको र त्यसमा एसएसपी सिंहको मिलेमतो रहेको भन्दै उजुरी परेपछि प्रहरी हेडक्वार्टरले छानबिन समिति गठन गरेको हो।
प्रहरी हेडक्वार्टर स्रोतका अनुसार डीआइजी राजेशलाल कर्णको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा कर्णसँगै एसपी आभूषण तिम्सिना र डीएसपी सन्तोष तामाङ छन्। हराएको ७ थान चेकमा विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन खोजिएको भन्दै सिन्धुलीका राजकुमार बरालले गृह मन्त्रालयमा पुस ९ गते उजुरी दर्ता गराएका थिए।
उजुरीमा उल्लेख भएअनुसार बराल गत असोज २२ गते झापा घर भई काठमाडौं बस्ने सुभास भेटवाललाई भेट्न नयाँ बानेश्वर पुगेका थिए। त्यहाँ भेटवाललगायत ४\५ जना तास खेलेर बसेका थिए। बरालले उनीहरुसँग मदिरा पिउँदै तास खेले। त्यसपछि उनी घर लागे। भोलिपल्ट हेर्दा उनको झोलामा रहेको बैंक अफ काठमाण्डू, कमलादी शाखाको ७ थान चेक थिएन। त्यसपछि चेक हराएको भन्दै बरालले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र परिसर टेकुमा उजुरीसमेत दिए। बैंकलाई भनेर चेक ब्लक गर्न लगाए।
बरालको निवेदन परेपछि परिसर काठमाडौंले भेटवाललाई टेकु बोलाएको थियो। भेटवालले उक्त ७ थान चेकमा जम्मा २ करोड २९ लाख रुपैयाँ रकम भरेको विषय सार्वजनिक भयो। भेटवालले भने तास खेल्ने क्रममा उक्त चेक बरालले दिएको प्रहरीसमक्ष बताएको उजुरीमा उल्लेख छ। तर, आफूले चेक नदिएको, चेक चोरेर रकम भरी हत्याउने उद्देश्य राखिएको बरालको आरोप छ। उक्त चेक महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंहको आदेशमा मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दसमक्ष असोज २५ गते दाखिला गरिएको थियो।
परीक्षणका लागि प्रहरीले आफ्नो हस्ताक्षरसमेत लिएको र जाँच गरेपछि बोलाउने भनिएकोमा अहिलेसम्म खबर नगरिएको बरालको भनाइ छ। पछि चेकमा भरिएको रकम तिर्न उल्टै एसएसपी सिंहले दबाब दिएको बरालले उजुरीमा उल्लेख गरेका छन्। एसएसपी सिंहको सरुवा भएपछि पीडितको जानकारी बिना नै भेटवाललाई प्रहरीले चेक फिर्ता दिएपछि सो विषय सार्वजनिक भएको हो। भेटवाललाई तिर्नुपर्ने कुनै रकम नै नभएको र खाली चेकमा रकम भरेर पैसा हत्याउन खोजेकोमा त्यसमा प्रहरीसमेतले साथ दिएको भन्दै छानबिनको माग गर्दै बरालले गृहमा उजुरी दिएका हुन्।
यस्तो छ एसएसपीको भनाई ?
सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए। सिंह उक्त चेक मिलाईदिने भन्दै केहि बिचौलिया नै परिसर नै पुगेका थिए । उक्त स्वार्थ समूहले भनेको सिंहले नमानेपछि उनीविरुद्ध सुनियोजित कहानी रचिएको उक्त स्रोतले बतायो । सिंहले भने जसको चेक हो उसैलाई दिने भनेपछि स्वार्थ समूहको योजना लथालिङ्ग भएको हो । सिंहलाई आरोप लगाउने व्यक्ति समेत विवादित पृष्ठभूमी र मिटर ब्याजी भएको उनको भनाई छ ।
गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको हो। गृह मन्त्रालय सिंहको विरुद्ध लाग्छ भने दृष्टान्त त केहि महिना पहिला देखिएकै हो । परिसरमा सिंह हुँदासम्म आफ्नो रोटी नसकिने देखिएपछि गृहमन्त्री बालकृष्ण खाडले समय नपुग्दै सिंहको सरुवा गराएका थिए ।
मदिरा पिएर तास खेल्ने क्रममा आफ्नो चेक हराएको र झापाको सुवास भेटवालले लगेको उजुरीमा उल्लेख छ। बैंक अफ काठमाण्डू कमलादी शाखाको ७ थान चेक हराएको भन्दै बरालले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए।
उजुरीपछि भेटवाललाई बोलाएर अनुसन्धान गर्दा ७ थान चेकमा २ करोड २९ लाख रुपैयाँ रकम भरेको पाइएको थियो। भेटवालले तास खेल्ने क्रममा उक्त चेक बराबरको रकम जितेको थिए।
उक्त प्रकरणका बारेमा एसएसपी सिंहले भने, ‘राजकुमार बरालले चेक आफैँ इस्यु गरेको रहेछ, उसले चेक दिएको सीसीटीभी फुटेज पनि छ, उसले चेक नष्ट गर्न खोजेको थियो, त्यो नपाइसकेपछि मेरो बदनाम गर्न खोजिएको हो। तर हेडक्वार्टरले छानबिन थालेको छ सत्य कुरा बाहिर आउने नै छ।’
आफूलाई पीडित बताउने बराल समेत मिटरब्याजी, जुवा खेलाउने र जग्गा दलाल रहेको एसएसपी सिंहले बताए। आफूले सुरुदेखि नै यसमा भएका सबै कामबारे माथिल्लो निकायमा जानकारी गराएको र माथिको आदेशअनुसार नै काम गरेको एसएसपी सिंहको भनाइ छ।