शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा स्वास्थ्य विमाप्रति सर्बसाधारणको आकर्षण बढ्दै

बिहिवार , पौष १५, २०७८

सिन्धुली – सिन्धुलीमा पछिल्लो समय स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । न्यूनतम शुल्कमा स्वास्थ विमा गराउदा परिवारका पाँच जनासम्मले एक लाख रुपैयासम्मको उपचार सेवा निःशुल्क पाईने भएपछि सर्बसाधारण व्यक्तिको स्वास्थ्य विमा प्रति आकर्षण बढेको हो ।

स्वास्थ्य विमाको महत्व र त्यसबाट पाईने फाईदा बुझ्दै जान थालेपछि स्वास्थ्य विमा गराउने व्यक्ति बढ्दै गएका नेपाल सरकार स्वास्थ्य विमा बोर्ड जिल्ला कार्यालयले जनाएको छ । सिन्धुली जिल्लामा २०७४ साल असोज ६ गतेदेखि स्वास्थ्य विमा गराउन सुरु गरिएको र हालसम्म ७९ हजार ६०८ जनाले स्वास्थ्य विमा गराएका कार्यालय प्रमुख रमेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका नौ वटै स्थानीय तह गरी ४० हजार ७६७ जना महिला र ३८ हजार ८४१ जना पुरुषले स्वास्थ्य विमा गराएका छन् । यसमध्ये १४ हजार ०७१ जना अति गरिब घरधुरी परिवारले निःशुल्क विमा गराएका छन् । जेष्ठ नागरिक ११ हजार ९०१ जनाले गरेका स्वास्थ्य विमा गराएका छन् ।

यस्तै, निःशुल्क स्वास्थ्य बिमा गराउनेहरुमा एचआईभि सम्बन्धि ८५ जना, पूर्ण अपाङगता भएका १०९ जना रहेका छन् । आधा शुल्क तिरेर महिला स्वास्थ्य स्वयंसेवीका २२४ जनाले स्वास्थ्य विमा गराएका छन् । कार्यालय प्रमुख घिमिरेले भन्नुभयो, “३५ सय रुपैया तिरेर स्वास्थ्य विमा गरेपछि एक घर परिवारका पाँच जनाले एक बर्षमा एक लाख रुपैयासम्मको निःशुल्क औषधि, उपचार सेवा पाउछन् । पाँच जनाभन्दा माथि प्रतिव्यक्ति सात सय रुपैया तिरेपछि २० हजार रुपैया बराबरको उक्त सेवा पाउछन् ।”

एउटा घर परिवारले पाउने निःशुल्क औषधि, उपचार सेवा न्यूनतम एक लाख रुपैयादेखि अधिकतम् दुई लाख रुपैयासम्मको रहेको उहाँले जानकारी दिनुभयो । यसका अतिरिक्त राज्यले संरक्षण गरेका अर्थात रातो कार्ड भएका व्यक्तिले एक लाख रुपैयासम्मको निःशुल्क औषधि र उपचार सेवा पाउनुका साथै उनीहरुले स्वास्थ्य विमा गर्दा पैसा पनि तिर्नु नपर्ने उहाँको भनाई छ ।

कार्यालय प्रमुख घिमिरेका अनुसार सिन्धुली जिल्लामा स्वास्थ्य विमा गराउन ८३ जना दर्ता सहयोगी नियुक्त भएका छन् । बाँकी नौ जना दर्ता सहयोगीको दरबन्दी रिक्त रहेको छ । उहाँले जिल्लाका नौ वटा स्थानीय तह मध्ये कमलमाई नगरपालिका र दुधौली नगरपालिकामा स्वास्थ्य विमा गराउने व्यक्तिको संख्या धेरै रहेको जानकारी दिनुभयो । कमलमाई नगरपालिकामा २० हजार ४८३ जनाले र दुधौली नगरपालिकामा १४ हजार ३४ जनाले स्वास्थ्य विमा गराएका छन् ।

त्यसैगरी तीनपाटन गाँउपालिकामा १२ हजार ५०३ जना, फिक्कल गाँउपालिकामा पाँच हजार ६५९ जना, गोलन्जोर गाँउपालिकामा छ हजार ३१२ जना, सुनकोशी गाँउपालिकामा छ हजार ३९१ जना, घ्याङलेख गाँउपालिकामा तीन हजार १५६ जना, मरिण गाँउपालिकामा आठ हजार ५६५ जना र हरिहरपुरगढी गाँउपालिकामा दुई हजार ५१७ जनाले स्वास्थ्य विमा गराएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार स्वास्थ्य विमा गराउन र स्वास्थय विमा कार्यक्रमको महत्व बुझाउन स्थानीय तहमा विमा दर्ता सहयोगीहरु घरदैलोमा नै पुग्ने गरेको उहाँको भनाई छ । कार्यालयका अनुसार विमा गराउदा विमितले रोजेको, ईच्छाएको स्वास्थय चौकी वा अस्पताललाई छनौटमा राख्न सकिने छ । निश्चित प्रकृया पुरा गरेर विमित भई सकेपछि एउटा कार्डको माध्यमबाट विनापैसा उपचार सेवा लिन सकिने छ ।

प्रतिक्रिया