शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सरिफाले राम्रो मूल्य पाउदा सिन्धुलीका किसान मख्ख

शनिवार , आश्विन १६, २०७८

सिन्धुलीको सुनकोसी गाँउपालिका–३ बोहोरेटारमा बीपी राजमार्गको छेउमा सरिफा बिक्री गर्न बसेका स्थानीय किसान ।

सुनकोशी (सिन्धुली), – सुनकोशी गाउँपालिका–४ लखनपुरका किसान ईन्द्रबहादुर मगरको बारीका कान्लामा यतिखेर सय भन्दा बढी सरिफाको बोट छ । ती मध्ये ६० वटा बोटमा सरिफा (आँटी) लटरम्म फलेका छन् । उहाँ अहिले यही सरिफा बिक्री गर्न बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाँउपालिकाको बोहोरेटारमा धाई रहनु भएको छ । “बिचौलियाबाट बच्न हामी आफ्नो उत्पादन आफैं बेच्छौं,” राजमार्गको छेउमा आँटी बेच्दै गर्नु भएका मगरले भन्नुभयो, “आफैले सरिफा बिक्री गर्दा बीचौलियालाई दिदा भन्दा चार गुणासम्म कमाई भएको छ ।” बोटमा नै किन्न पुग्ने व्यापारी (बिचौलिया)ले राम्रो मूल्य नदिने भएपछि तीन बर्षदेखि आफै बेच्न आउने गरेको उहाँले बताउनुभयो । “व्यापारी बोटमा नै पुग्छन्, सरिफा किन्न,” किसान मगरले भन्नुभयो, “व्यापारीले प्रतिकिलो ४०/५० रुपैयाँभन्दा बढी दिदैनन्, आफ्नो उत्पादन आफै बेच्दा प्रतिकिलो १५० देखि १६० रुपैयाँसम्ममा विक्रि हुन्छ ।” वर्षौंसम्म मिहिनेत नगरी नै फल्ने सरिफाको पछिल्लो समय बजारमा माग पनि बढेको उहाँले सुनाउनुभयो । मल, विषादी प्रयोग गर्नु नपर्ने र आफै उम्रिएको अर्गानीक फल सरिफा बेचेर सिजनमा एक दिनमै छ हजारदेखि दश हजारसम्म आम्दानी लिने गरेको उहाँको भनाई छ । वीपी राजमार्गसंगै भित्रि सडकहरु विस्तार भएपछि पहिले जस्तो किसानका उत्पादनले बजार नपाउने समस्या नरहेको स्थानीय बताउछन् । सरिफाले अघिल्ला बर्षहरुमा भन्दा अहिले भाउ पाएकाले किसानको आम्दानी बढेको सुनकोशी गाउँपालिका–४ लखनपुर निवासी शान्ता श्रेष्ठले बताउनुभयो । “विगतका बर्षमा खाएको खायो, नखाईसकेको कुहिएर सकिन्थ्यो”, उहाँले भन्नुभयो, “पहिला त्यत्तिकै खेर जाने सरिफाबाट अहिले राम्रो कमाई हुन थालेको छ ।” सुनकोसी गाँउपालिका–६ सित्तलपाटी चैनपुरका बिरबहादुर सार्की चार वर्षदेखि आफुले पनि प्रत्येक वर्ष सिजनमा सरिफा बिक्री गरि २५ हजार रुपैयासम्म आम्दानी गर्दै आएको बताउनुहुन्छ । “केही बर्ष पहिलेसम्म आफैंले ढाकर, डोकोमा बोकेर सिन्धुली सदरमुकाम पुर्‍याउन पथ्र्यो, त्यो बेला एक ढाकर सरिफाबाट दुई हजार पनि आम्दानी हुदैन थियो” उहाँले भन्नुभयो, “अहिले त फल्न मात्र पर्‍यो, बजारको समस्या छैन ।” यतिबेला बोहोरेटारमा सरिफाको बजार नै लागेको छ । यहाँ प्रत्येक बर्ष भदौदेखि कात्तिकसम्म किसानहरु सरिफा विक्री गर्न आउँछन् । सरिफाको उत्पादन सुनकोशी गड्तीर क्षेत्रमा हुन्छ । यस क्षेत्रका किसान पछिल्लो समय सरिफाले राम्रो बजार पाउन थालेपछि खुशी छन् । कम लगानीमा उत्पादन हुने फल सरिफाबाट राम्रो आम्दानी हुन थालेपछि सुनकोशीका झण्डै पाँच सय बढी किसानहरुको जीवनस्तर फेरिएको स्थानीयको भनाई पाईन्छ । सुनकोशी गाउँपालिका प्रमुख दिपा बोहोरा दाहालले सरिफाले बजार राम्रो पाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरिफाले बजार त पायो, तर यसको उत्पादन कम हुदै गएको छ ।” उहाँका अनुसार दल राखेर अहिलेसम्म पनि यहाँका किसानले सरिफाको बिरुवा उमारेका छैनन् । कम लगानी र मेहनत विना नै यो आफै उम्रिन्छ र फल्छ । यसको व्यवसायिक उत्पादनका लागि किसान लाग्नु पर्ने र यसका लागि किसानलाई सहयोग गर्न आफ्नो पालिका लाग्ने उहाँले बताउनुभयो । यहाँका किसानहरु सरिफासँगै अन्य मौसम अनुसारका अम्बा लगायतका फलफूल र तरकारी बेचेर पनि आय–आर्जन गर्दै आएका छन् । जापान सरकारको सहयोगमा वीपी राजमार्ग निर्माण भएपछि दैनिक हजारौँ यात्रुको आवात–जावत बढेकाले स्थानीय उत्पादनले सहज बजार पाएको स्थानीय बासिन्दा बताउछन् ।

प्रतिक्रिया