काठमाडौंः मनीष डाँगी अहिले चर्चामा रहेका फुटबलर हुन्। उनको नाम अहिले हरेक नेपाली फुटबल समर्थकको मुखमा झुण्डिएको छ।
२० वर्षे डाँगी फेरि रातारात चर्चामा आएका छन्। नेपालले शुक्रबार राति आयोजक माल्दिभ्सलाई हराएर १३औं संस्करणको साफ च्याम्पियनसिपमा सुखद सुरुवात गर्दा उनी नायक साबित भयो।
खेलको अन्तिम तिर उत्कृष्ट गोल गरेपछि उनी अहिले चर्चा आएका हुन्। नेपाललाई जित दिलाउन डाँगीले निर्णायक गोल गरेका थिए। नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो।
नेपालका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका डाँगीले खेलको ८६औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए। उनले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गरेका थिए।
मनीषको यो नेपालका लागि दोस्रो गोलसमेत हो। उनले यसैवर्ष इराकविरुद्धको मैत्रीपूर्ण फुटबलमा डेब्यू गरेका थिए। उनले इराकविरुद्ध पनि उत्कृष्ट गोल गरेका थिए। सो खेलको ३०औं मिनेटमा डाँगीले नेपाललाई अग्रता दिलाएका थिए।
सन्तोष तामाङको चलाखी पूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै मनिषले डेब्यू गोल गरेका थिए। गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट शानदार गोल गरेका थिए। यसका साथै उनी नेपालबाट डेब्यू खेलमा गोल गर्ने तेस्रो खेलाडीसमेत बनेका थिए।
माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका मनीषको प्रतिक्रिया
नेपालको जितमा निर्णायक गोल गरेपछि मनीष खुशी छन्। उनले विश्वास गरेर मैदान पठाउने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीप्रति आभारसमेत व्यक्त गरेका छन्।
‘प्रशिक्षकले तिमीले गोल गर्छौं भनेर विश्वास गरेर मैदान पठाउनु भएको थियो। त्यसका लागि प्रशिक्षकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म माथि विश्वास गर्नु भएकोमा,’ मनीषले भने, ‘टिमले सपोर्ट गरिरहनु भएको थियो। प्रशिक्षक निर्देशनमा हामी गईरहेका थियौं। लक्कीले बल मेरो खुट्टामा आयो र गोल पनि भयो। त्यसका लागि टिम, प्रशिक्षक र अफिसियललाई धन्यवाद दिन चाहन्छु।’ उनले आगामी खेलमा पनि राम्रो प्रदर्शन गर्ने बताएका छन्।
को हुन् मनीष?
मनिष डाँगीले पनि एनएसएलमा विराटनगर सिटीबाटै खेले। दक्षिण कोरियामा फुटबल खेल्दै चर्चा कमाएका उनले यसअघि सी डिभिजन लिग खेलेका थिए भने नेपालमा भएको साफ यू–१८ च्याम्पियनसमेत खेलेका थिए।
विराटनगरले उनलाई हिँड्न ट्यालेन्टको रुपमा टिममा अनुबन्ध गरेको थियो र उनले मैदानमा पनि त्यही खालको प्रदर्शन देखाए।
उनले एनएसएलमा विराटनगरका लागि लिगका सबै ६ खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै खेलेका थिए। पहिलो रोजाईमा पर्न नसकेपनि उनले अवसर पाउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनी अट्याकमा जुनसुकै पोजिसनमा समेत खेल्छन् भने बढी जसो विंगरको भूमिकामा खेल्छन्। उनले यसअघि खालीबारी फुटबल क्लबका लागि सी डिभिजन लिग खेलेका थिए र त्यहीबाट उनको चर्चा बढेको थियो।
मनीष कोरियाको फुटबल एकेडेमीमा हुर्किएका हुन्। दक्षिण कोरियामा बस्दै आएका उनी नेपालमा नागरिकता बनाउन आएका बेला सी डिभिजन लिग खेलेका थिए।