शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा अदुवाको गानो कुहिने रोगले किसान चिन्तित

शनिवार , श्रावण २३, २०७८

सिन्धुली –सिन्धुलीको दुधौली नगरपालिका १ हत्पते क्षेत्रमा लगाइएको अदुवामा गानो कुहिने रोगले किसान चिन्तित भएका छन् । नगरपालिकाको १ नम्बर वडा क्षेत्रभित्र करिव २० विगा जमिनमा लगाइएको अदुवामा गानो कुहिने रोगले किसानहरु चिन्तित भएका हुन् ।

हत्पतेका स्थानिय शिव बहादुर बोगटीको करिव ३ कठ्ठा जमिनमा लगाएको अदुवा सबै कुहिएको छ । गत चैतमा लगाएको अदुवा करिब ४० क्विन्टल कुहिएको उहाँले बताउनुभयो । अदुवाको गानो बढ्ने समयमा कुहिने रोग देखापरेपछि बोगटी रातको निन्द्रा समेत हराउन लागेको गुनारो गर्नु हुन्छ । “हाम्रो आम्दानीको मुख्य स्रोत नै यहि अदुवा खेती हो । गानो वढ्ने समयमा सबै कुहिएको छ ।” उहाँले भन्नुभयो, “अदुवा लगाउन गरेको लगानी समेत नउठला जस्तो छ । ”

अदुवा बाटै वार्षिक करिव ३ लाख आम्दानी लिने बोगटीलाई यो वर्ष भने खेतीमा लगाएको लगानी कसरी तिर्ने भन्ने चिन्ता वढेको छ । खाद्यान्न बाली मासेर लगाएको व्यावसायिक अदुवा खेती रोगले सखाप पारेपछि अर्को वर्ष देखि अदुवामा लगानी नगर्ने सोच बनाएको बोगटीले बताउनुभयो । ‘बारीमा सबै अदुवा कुहिएको देख्दा फेरि पनि अदुवा खेती गर्ने जागर नै हराइसक्यो । आफुले लगाउको लगानी नै नउठ्ने भएपछि फेरि यहि खेती गरेर के गर्र्ने । ’ उहाँले भन्नुभयो । हत्पते क्षेत्रमा लगाएका सबै अदुवामा अहिले यस्तो रोग देखा परेको उहाँको भनाइ छ । पहिला बोट मर्दै जाने र बिस्तारै गानो कुहिने समस्या रहेको स्थानिय बोगटीले बताउनुभयो ।

“यो रोग पहिलेको वर्षमा पनि देखिएको थियो ।” उहाँले भन्नुभयो, “पहिलेको वर्ष भन्दा बढी यो रोग अहिले देखिएको छ ।” अदुवा बाटै बार्षिक लाखौंको आम्दानी गर्दै आएका हत्पतेका किसानका अहिले अदुवाको गानो कुहिन थाले पछि लगानी नउठ्ला भन्ने चिन्तामा परेका छन् ।

नगरपालिकाले रोग नियन्त्रणका लागि विषादी वितरण गरेपनि रोग नियन्त्रण हुन नसकेको स्थानिय भरत गोलले बताउनु भयो । “विषादी प्रयोग गर्दा पनि रोग नियन्त्रण हुन सकेन” उहाँले भन्नुभयो , “रोपेको सबै अदुवा कुहि सक्यो, विषादीले अदुवा झन् कुहिएको छ ।”

उत्पादित अदुवाको बजारिकरणको समस्या रहेको हत्पतेका स्थानिय लोकन्द्र बोगटीले बताउनुभयो । दुधौली नगरपालकाले कृषकलाई आवश्यक तालिम, पकेट क्षेत्र घोषण, आवश्यक प्राविधिक उपलब्ध, विषादी व्यवस्थापन लगाएत बजारिकरणको व्यवस्थापन गरे कृषिमा आत्मनिर्भर हुने बताउनुभयो । उत्पादिन अदुवा विक्रि नहुदाँ कुहिएर नोक्सानी भएको भन्दै उहाँले उक्त स्थानमा सितभण्डारको आवश्यक रहेको बताउनुभयो । यस्तै गानो कुहिएका अदुवा पुुर्णरुपमा नियन्त्रण गर्न नसकिने र बाकीँ भएको राम्रो जतिलाई कुहिन बाट बचाउन नगरपालिकामा पहल गरिरहेको बताउनुभयो ।

नगरपालिकाको १३ र १४ नम्बर वडा करिव ३० बिगा जमिनमा अदुवा लगाइएको नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिकाले १३ र १४ नम्बर वडालाई नगरपालिकाले पकेट क्षेत्र समेत घोषण गरेको छ ।

सिन्धुलीमा कति उत्पादन हुन्छ अदुवा ?

कृषि ज्ञान केन्द्र सिन्धुलीको २७६/७७ को तथ्यांक अनुसार जिल्लामा ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवा खेती गरिएको छ । जिल्लामा बार्सिक १२ हजार ५ सय ४० मेट्रिकटन अदुवा उत्पादन हुन्छ । यो १३.९३५ उत्पादकत्व हो । यस् बर्ष पनि अदुवामा गानो कुहिने, थाप्ले र पहेले मुख्य समस्या रहेको ज्ञान केन्द्रले जानकारी दिएको छ । जिल्लामा व्यावसायीक अदुवा खेती विषेश गरि हरिहरपुरगढी, दुधौली, कमलामाई, तिनपाटनमा रहेको छ । जिल्लाका ग्रामीण क्षेत्रका किसान व्यावसायिक अदुवा खेतिमा निर्भर छन् । धान उत्पादन नहुने जमिनमा अदुवाको राम्रो उत्पादन हुने भएकाले किसानहरु अदुवा खेतीमा आकर्षत भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका निमित्त प्रमुख श्री कृष्ण अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया