सिन्धुलीमा पछिल्लो केहि दिनयता कोरोना विरुद्धको चाइनिज खोप भेरोसिल दुरुपयोगको घट्नाले माहोल तताइरहेको छ । संचारगृहका कर्मचारी र वृद्धवृद्धालाई लगाउनुपर्ने खोप अन्य व्यक्तिलाई पनि लगाइएको भन्दै जिल्लामा विरोध भइरहेको छ । केहि संचारमाध्यमले यो विषयलाई लिएर मनगढन्ते समाचारहरु पनि सम्प्रेषण गरिरहेका छन् । संचारगृहको प्रकाशकले आफू नजिकको नातेदारलाई पदिय दायित्वको दुरुपयोग गर्दैे खोप लगाइदिने र आफ्नो संचारमाध्यमबाट खोपको दुरुपयोग भएको भन्दै विरोध गरेको पनि जिल्लामा देखिएको छ । त्यसैगरि, संचारगृहमा कार्यरत नभएका हाँस्यकलाकार देखि छरछिमेकलाई समेत पदिय शक्ति प्रदर्शन गर्दै कोरोना विरुद्धको खोप लगाइएको छ । पत्रकारले मात्र नभएर अन्य पहुँचवालाले समेत भेरोसिल खोपमा र्याल चुहाएका छन् । जिल्ला प्रशासनले जनस्वास्थ्य कार्यालाई खोपको दुरुपयोगको विषयमा स्पष्टिकरण मागिसकेको छ । केहि दिनमा सत्य, तथ्य बाहिरीनेनै छ । तसर्थ, खोपकै विषयमा बबन्डर मच्चाउदैँ आग्रह पुर्वाग्रह नराखि कोरोना रोकथाम र नियन्त्रणमा सम्बन्धित पक्षले जोड दिन जरुरी छ । जिल्ला प्रशासन र जनस्वास्थ्य कार्यालये खोप दुरुपयोगको घट्नामा निष्पक्ष छानविन गर्नुपर्दछ ।
सिन्धुलीमा अहिले पनि समस्त वृद्धवृद्धाले कोरोनाविरुद्धको खोप लगाएका छैनन् । ती वृद्धवृद्धाको पहिचान गरि उनीहरुलाई खोप लगाउनतर्फ जिम्मेवार निकायले पहल गर्न आवश्यक छ । त्यसैगरि, कोरोना खोपको दुरुपयोगमा जति आवाज उठेको छ त्यतिनै कोरोना रोकथाम र नियन्त्रणमा पनि आवाज उठ्ने हो भने जिल्लामा कोरोनालाई पराजित गर्न केहि हद सजिलो हुनेछ । जिल्ला प्रशासन, स्थानिय सरकार, जनस्वास्थ्य कार्यालय, संचारगृह लगायत सम्बन्धित सबै निकाय गम्भिर भएर कोरोना महामारीको रोकथाम र नियन्त्रणमा बल गर्न आवश्यक छ । अहिलेको भिषम परिस्थीतिमा एकले अर्कोलाई दोषि ठह र्याउनमै समय व्यतित गर्ने हो भने कोरोनाले ठूलो क्षति पुर्याउने आकलन गर्न सकिन्छ । अतः अरुलाई खाने बाघले आफूलाई पनि नखाला भन्न सकिन्न । त्यसैले, जिल्लाका जिम्मेवार निकायले तिललाई पहाड बनाउने भन्दा पनि समस्याको समाधान कसरी गर्ने भन्ने तर्फ ध्यान केन्द्रित गर्न जरुरी छ ।