शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा रोजगारीको आधार बन्दै च्याउ खेती

शनिवार , बैशाख १८, २०७८

दुधौली नगरपालिका–६ हर्षाहीमा सरिता अधिकारी दनुवारले गर्नु भएको च्याउ खेती ।

हर्षाही(सिन्धुली), – दुधौली नगरपालिका–६ हर्षाही निवासी सरिता अधिकारी (दनुवार)लाई यतिखेर च्याउ खेती रोजगारीको राम्रो आधार भएको छ । उहाँले एक बर्षअघि उद्यम व्यवसाय अन्तर्गत च्याउ खेती सम्बन्धि एक साताको तालिम लिएपछि व्यवसाय गर्न सजिलो भएको हो । “गत बर्ष तालिम लिएपछि २० हजार रुपैयाँ लगानी गरी दुई सय पोका (बिउ) हालेर च्याउ खेती सुरु गरे, एक लाख रुपैयाँ कमाई,” व्यवसायबाट उत्साहित सरिताले भन्नुभयो, “यो बर्ष पनि दुई सय पोका बिउ हालेर भर्खर सुरु गरेको छु । ५० हजार रुपैयाँ जतिको च्याउ बिक्री गरी सकेको छु । तालिम लिएपछि प्राविधिक ज्ञान पाएकोले व्यवसाय गर्न सजिलो भएको छ ।” एक पटकमा ३५ केजीसम्म च्याउ बिक्री गर्ने गरेको र प्रतिकेजी दुई सय रुपैयाँले गाउँमै बिक्री हुने उहाँले सुनाउनुभयो । उहाँका अनुसार एक पोका बिउबाट चार पटकसम्म च्याउ टिपेर आम्दानी लिन पाईन्छ । गाउँकै उन्नतीशिल कृषि तथा उद्यमशिल सहकारी संस्थामा आबद्ध उद्यमी सरिता च्याउकै आम्दानीले मासिक दुई सय रुपैया सहकारी बचत पनि गर्दै आउनु भएको छ । त्यस्तै गोलन्जोर गाउँपालिका–४ माथिल्लो कुभिण्डेका कृषक भक्तबहादुर आले यतिखेर च्याउखेतीबाट घरमै बसेर मासिक ५० हजार रुपैया आम्दानी लिनु हुन्छ । उहाँ रोजगारीका लागि बिदेश जाने युवाहरुका लागि उदाहरणीय व्यक्ति बन्नु भएको हो । दुई बर्ष अघिसम्म बेरोजगार जीवन बिताई रहनु भएका कृषक आलेलाई तीन दिनको तालिम लिएर दुईवर्ष अघिदेखि सुरु गरेको च्याउखेती यतिखेर आफ्नो लागि घरमै बसेर मनग्य आम्दानी लिने रोेजगारीको राम्रो आधार बनेको छ । माहाभारत उत्तरतर्फको दुर्गम ठाँउमा घरको एउटा कोठामा कृषक आलेको च्याउ खेती छ । “सबै खर्च कटाएर पनि मासिक ४० हजार आम्दानी लिने गरेको छु,” उहाँले भन्नुभयो, “बजार नपाइने हो की भन्ने लागेर खेती बिस्तार गर्न भने सकेको छैन् ।” महिनामा चार पटकसम्म टिप्न मिल्ने च्याउ विक्रीका लागि एक पटक टिपेपछि अर्को पटकको लागि तयार हुन सातदेखि नौ दिनसम्म लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । थोरै परिमाणमा उत्पादन भएकाले अहिलेलाइ भने बजारको समस्या नभएको कृषक आलेको भनाइ छ । प्रतिकिलो दुई सय रुपैंयाँमा विक्री हुने गरेको च्याउको लागि प्राविधिक समस्या आउदा भने उहाँलाइ सल्लाह दिने कोही छैनन् । “कृषिका प्राविधिक भेटिदैनन्, ठुलो समस्या नआएकाले अहिलेसम्म त आफैंले गर्दैछु”, उहाँले गुनासो गर्नुभयो । च्याउ खेती गर्नका लागि सबै सामाग्री उहाँ आफैंले तयार पार्ने गर्नु भएको छ । जुनार, सुन्तला हुने उक्त क्षेत्रमा फरकखालको तरकारी च्याउ भएकाले स्थानीयस्तरमै विक्री हुने गरेको छ । फरक स्वादको तरकारी च्याउ हुने भएकाले उहाँको ग्राहक स्थानीय कृषक नै छन् । “गाउँ घरका कृषकले नै सबै च्याउ खरिद गरेर लैजान्छन्, बाहिरको बजारमा लानु परेको छैन्”, उहाँले भन्नुभयो, “अब अर्को सालबाट खेती बिस्तार गरेर बाहिरको बजारमा समेत विक्रीका लागि लैजाने सोचाइमा छु ।” महाभारत क्षेत्रको चिसोमा फरक स्वादको तरकारी च्याउ भएकाले आलेले च्याउ निकाल्नासाथ हारालुछ नै हुने गरेको स्थानीय ग्राहक रामबहादुर आलले बताउनुभयो । उहाँले भन्नुभयो, “समय अनुसार फरक खालको पेशा भएकाले रोजगारीका लागि विदेसिनु नपर्ने सन्देश आलेको कमाइले दिएको छ ।” पछिल्लो समयमा च्याउ खेती गरेर स्वरोजगार बन्ने कृषकको संख्या जिल्लामा बढ्दै गएको पाईन्छ ।

प्रतिक्रिया