सिन्धुली,२९ चैत्र – सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका महिलाहरुले बिषादी रहित तरकारी खेती गर्नु सुरु गरेका छन् । रोग किरा नियन्त्रणका लागि जैविक बिषादी बनाउने सिप पाएपछि व्यवसायिक रुपमा यहाँका महिलाहरुले बिषादीरहित तरकारी खेती थालेका हुन ।
दुधौली नगरपालिका–१० निवासी कृषक चहाना श्रेष्ठले यतिखेर सात कठ्ठा जमिनमा बन्दा, काउली, खुर्सानी र गोलभेडा खेती गर्नु भएको छ । उहाँले आफुले गरेको तरकारी खेतीबाट भर्खरै चालिस हजार रुपैया भन्दा बढी आम्दानी लिएको बताउनुभयो । “मैलै यती ठूलो परिमाणमा पहिलो पटक तरकारी खेती गरेको हुँ, सुरुमा मिहेनत मात्रै खेर जाने हो की भनेर आत्तिएकी थिए,” उहाँले भन्नुभयो, ‘मिहेनत गर्दा नहुने के रहेछ र ।”
गत बर्ष पाँच दिने मौसमी तथा बेमौसमी तरकारी खेतीको तालिम सिकेपछि कृषक चहाना श्रेष्ठ सहित २५ जना महिलाले व्यवसायिक रुपमा तरकारी खेती थालेका हुन् । तरकारीमा लागेको रोक किरा महिला आफैलै घरमा नै जैविक बिषादी बनाई छर्केर नियन्त्रण गर्न थालेका छन् । अर्गानिक उत्पादन भएकोले गाँउघरमा नै सबै बिक्री हुदै आएको छ । बजारको कुनै समस्या छैन ।
गाँउघरमा पाईने तीतेपाती, बकाईनो, कालीझार, अदुवा, लसुन र गाँईभैंसिको गहुँत मिसाई जैविक बिषादी बनाई तरकारी खेतीमा लागेको रोक किरा नियन्त्रण गरेको महिलाहरु बताउछन् । तरकारी खेतीमै संलग्न साबीत्रा घिमिरे सहकार्य नेपालले महिला रोजगारीका लागि दिगो बित्तिय पँहुच परियोजना अन्तर्गत दिएको मौसमी तथा बेमौसमी तरकारी खेती तालिममा उक्त बिषादी बनाउन सिकेको बताउनुहुन्छ । उहाँले पनि अहिले छ कठ्ठा जमिनमा आलु, काउली, बन्दा, गोलभेडा खेती गर्नु भएको छ ।
‘यो बर्ष अहिलेसम्म बजारबाट बिषादी किनेर ल्याई प्रयोग गर्नु परेको छैन,’ उहाँले भन्नुभयो, ‘आफैले बनाएको जैविक बिषादीले रोग किरा नियन्त्रण गर्न काम गरेको छ ।’ ३० हजार रुपैया जतिको काउली बिक्री गरि सकेको र बन्दा, गोलभेडा र आलु बिक्री गर्न बाँकी रहेको उहाँले सुनाउनुभयो । असोजमा बेर्ना राखेर धान काटेपछि बेर्ना सारेर तरकारी खेती गरेको उहाँको भनाई छ ।
तरकारी खेती गर्न थालेपछि आम्दानी पनि हुन थालेको र रोग किराको नियन्त्रणका लागि पैसा पनि खर्चिनु नपरेको खेतीमा संलग्न महिलाहरु बताउछन् । तरकारी खेतीमा संलग्न महिलाहरुले गाँउमै प्रगतीशिल कृषि तथा उद्यमसिल सहकारी संस्था खोलेका छन् ।
महिलाहरु मौसमी तरकारी खेतीको लागि खनजोत गरी जग्गा तयार गर्न थालेका छन् । बेमौसमी तरकारी खेतीको रुपमा लहरे बाली जस्तै करेला, लौका, काँक्रो, फर्सि, बोडी र घिरौला रोप्ने तयारी गरिएको उक्त सहकारी संस्थाले जनाएको छ ।
उक्त सहकारी संस्थालाई आवश्यक पर्ने जति तरकारीको बिउबिजन, दुई वटा हाते ट्याक्टर, टनेल, ट्यांकी, हजारी, स्प्रेट्याङकी, गार्डेन पाईप र सिंचाईका लागि पानी तान्ने मोटर निःशुल्क रुपमा सहयोग गरेको सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले बताउनुभयो ।
महिलाहरुलाई उद्यमशिल बनाई रोजगारीमा संलग्न गराउने उद्देश्यले उक्त सहयोग गरिएको उहाँको भनाई छ ।